• १६ भदौ २०८१, आइतबार

विद्यार्थी नेता तथा कार्यकर्ता पक्राउ

blog

तिलाचन पाण्डे

तम्घास,भदौ ३१ गते । धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी सङ्गठनका केन्द्रीय महासचिवसहितका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

 जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसमा आयोजना गरेको जिल्ला सम्मेलनबाट केन्द्रीय महासचिव रुपा बुढामगरसहित झण्डै दुई दर्जन विद्यार्थी नेताहरुलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ ।

जिल्लाको सम्मेलनका लागि भेला भएका उनीहरुलाई क्याम्पसबाट प्रहरीले पक्राउ गरेको हो ।

यता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले कम उमेरका विद्यार्थीहरु सहभागी भएकाले सोधपुछका लागि ल्याइएको बताउनुभयो ।

कम उमेरका विद्यार्थीहरुलाई भेला तथा सभा समारोहमा सहभागी गराउन नपाइने भएकाले उनीहरुलाई नियन्त्रणमा लिइएको खरेलले दाबी गर्नुभयो ।

केन्द्रीय महासचिव रुपा बुढामगर पनि कम उमेरको हो त भन्ने गोरखापत्रकर्मीको प्रश्नमा उहाँले बुढालाई सोधपुछका लागि बोलाइएको उल्लेख गर्नुभयो ।

अन्य विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सो समूहले यस अगाडि जिल्लामा चन्दा आतङ्क मच्चाएको भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मीले निगरानीमा राखेको थियो ।