• १३ साउन २०८१, आइतबार

बेपत्ता १० को अवस्था अझै अज्ञात, खोजीमा सेना र प्रहरी

blog

बाढीपहिरो प्रभावित पीडितसँग भेटघाट गर्दै प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना नेतृत्वको टोली । तस्बिर : लोकेन्द्र जोशी

लोकेन्द्र जोशी

दार्चुला, भदौ ३१ गते । दार्चुलामा भदौ २४ गते राति बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ । घटना भएको आठ दिन बित्दा पनि बेपत्ता भएकाहरु फेला नपरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । 

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले बेपत्ता भएकाहरुको खोजीकार्य जारी नै राखेको भए पनि भेटिने आशा मरिसकेको बताएका छन् । शुक्रबार रातिको अविरल वर्षाले दार्चुलामा पाँच जनाको मृत्यु हुनुका साथै १० जना बेपत्ता र आठ जना घाइते भएका थिए । 

बाढीले दुई वटा विद्यालय भवन, डुङरी मन्दिर र विद्युतको पावरहाउस, लास्कु खोलाको एउटा मोटरेबल पुल, विभिन्न स्थानमा गरी चार वटा झोलुङ्गे पुल, बंगाबगरमा पार्किङमा राखेका नौ वटा सवारीसाधन बगाएको थियो । दार्चुलामा हालसम्म १७० घरमा क्षति भएको प्रहरीको तथ्याङ्क छ । 

६६ घर पूर्णरुपमा ध्वस्त भएका छन् । ९७ घर जोखिममा छन् । अन्य ७ वटा घर आंशिक जोखिममा रहेको प्रहरीले जनाएको छ । ठूलो जनधनको क्षति व्यहोरेका बाढीपहिरो पीडितले समयमै राहत नपाएको भन्दै गुनासो गरिरहेका छन् । 


राहत वितरणमा ढिलाइ

दार्चुलाको बाढी पहिरोले ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारको तर्फबाट प्रति परिवार एक लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय भएको छ । प्रदेश सरकारले राहत रकम पठाइसकेको जनाए पनि हालसम्म वितरण हुन सकेको छैन । छिट्टै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी पीडित परिवारलाई राहत रकम वितरण हुने सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिनुभयो । 

सङ्घीय सरकारबाट समेत प्रतिमृतकको परिवारलाई प्रशासन कार्यालयमार्फत दुई लाख रुपियाँ राहत उपलब्ध गराउने कार्यविधि छ । एकै घरका एकभन्दा बढीको ज्यान गएमा प्रतिमृतक थप एक लाख रुपियाँका दरले राहत उपलब्ध गराउने सङ्घीय सरकारको कार्यविधि छ । तर हालसम्म सङ्घीय सरकारले दार्चुलाका बाढीपहिरो पीडितलाई विशेष राहत दिने  औपचारिक निर्णय गरेको छैन । 

कार्यविधिअनुसार पाउनुपर्ने रकम पीडितले समयमै नपाउने अवस्था छ । नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन र पीडितसँग भेटघाट गरेर राहत उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । 

विभिन्न सङ्घ, सङ्गठन र नागरिकहरुले भने बाढीपहिरो पीडितलाई राहत सङ्कलन गरेर वितरण गरिरहेका छन् । बाढीपहिरो पीडितलाई राहत वितरणमा सरकारी पक्षबाट ढिलाइ भइरहेको स्थानीय चक्रबहादुर बमले बताउनुभयो । 

नगरपालिकाद्वारा राहत वितरण

महाकाली नगरपालिकाभित्रका बाढीपीडितलाई नगरपालिकाको तर्फबाट शुक्रबार राहत वितरण गरिएको छ । नगरपालिकाले मृतकको परिवारलाई प्रतिमृतक एक लाखका दरले नगरपालिकाको तर्फबाट राहत उपलब्ध गराएको नगरप्रमुख नरसिंह चैसीरले जानकारी दिनुभयो । 

सरकारले बेपत्तालाई मृतक घोषणा गरेलगत्तै परिवारका सदस्यलाई समेत राहत उपलब्ध गराइने उहाँले बताउनुभयो । यस्तै पूर्णरुपमा घर क्षति भएको परिवारलाई प्रतिपरिवार ५० हजार र जोखिममा रहेका घरपरिवारलाई तत्काल १५ हजार रुपियाँ राहत रकम उपलब्ध गराउने नगरपालिकाले निर्णय गरेको छ । नौगाड गाउँपालिकाले समेत पीडित परिवारलाई कार्यपालिकाको निर्णयअनुसार राहत वितरण गर्ने जनाएको छ ।

पीडितलाई एमालेको राहत

दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् नेकपा (एमाले) का पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्ना नेतृत्वमा एमाले नेताहरुको टोलीले नौगाड गाउँपालिका र महाकाली नगरपालिकाका बाढीपहिरो पीडितहरुसँग भेटघाट गरेको छ । स्थलगत अवलोकन र पीडित परिवारसँग भेटघाट गरेर एमालेले राहत वितरण गरेको हो । 

नौगाडमा गत शुक्रबार राति आएको पहिरोमापरि दुई जनाले ज्यान गुमाएका थिए भने धेरै घरवारविहीन भएका छन् । पहिरोमापरि ज्यान गुमाएका परिवारका सदस्यहरुलाई ३० हजार, घरमा पूर्ण क्षति भएका परिवारलाई १० हजार र आंशिक क्षति भएका परिवारलाई पाँच हजारका दरले राहत वितरण गरेको एमाले नौगाड गाउँकमिटी अध्यक्ष जनक ठगुन्नाले बताउनुभयो । 

नौगाडमा पीडितसँग भेटघाट, स्थलगत अवलोकनसँगै राहत वितरण गरेर फर्किएको टोलीले बिहीबार र शुक्रबार महाकाली नगरपालिकाको घट्टेखोला, मुल्ला, मैखोली, काटै, लास्कु, बंगाबगर लगायत क्षेत्रमा बाढीपीडितलाई भेटेर सान्त्वना दिएको छ । 


दुहुँसँगको सम्पर्क जोडियो

लास्कु खोलामा अस्थायी पुल निर्माण गरिएको छ । बाढीले लास्कु खोलाको मोटरेवल पुल र झोलुङ्गे पुल बगाउँदा जिल्लाको दुँहु, व्यास गाउँपालिका र महाकाली नगरपालिकाको सम्पर्क टुटेपछि स्थानीयलाई आवतजावतमा समस्या भएको थियो । सो क्षेत्रमा अस्थायी काठेपुल निर्माण गरिएको महाकाली नगरपालिकाका प्रमुख नरसिंह चौसिरले बताउनुभयो ।

विद्युतका फलामे पोलहरु प्रयोग गरेर आठ मिटर लम्बाइको पुल बनाइएको छ । अस्थायी पुल निर्माणपछि सदरमुकाम खलङ्गाको दुहुँ क्षेत्रसँग सम्पर्क जोडिएको छ । लास्कुखोलामा पानीको सतह घटेको छैन । तर दुई वटा स्काभेटर प्रयोगगरी लास्कु खोलाको पानी डाइभर्सन गर्ने काम भइरहेको छ । पुरानो मोटरपुल र झोलुङ्गेपुल रहेको नजिकको क्षेत्रमा कटानको जोखिम छ ।