भवानीदत्त भट्ट
कञ्चनपुर, असार १८ गते । कञ्चनपुरमा जिपको ठक्करबाट युवा व्यवसायीको मृत्यु भएको छ । गए राति जिपको ठक्करबाट भीमदत्त नगरपालिका–१५ गोबरीयाका ४० वर्षीय दीपक बहादुर चन्दको मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बेदकोट नगरपालिका–३ दैजि बजारमा पश्चिमबाट पूर्वतर्फ गइरहेको सुपप्र ०४००१ च ००१३ नम्बरको बोलेरो जिपले पूर्वबाट पश्चिमतर्फ गइरहेको विद्युतीय मोटरसाइकलमा सवार चन्दलाई ठक्कर दिएको थियो ।
जिपको ठक्करबाट गम्भीर घाइते हुनुभएका चन्दलाई उपचार लागि महाकाली प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) सागर बोहराले बताउनुभयो ।
प्रनाउ बोहराका अनुसार, जिप र चालक बेदकोट नगरपालिका वडा नम्बर ३ का दीपेन्द्र महरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । चन्द लामो समयदेखि दैजी बजारमा हार्डवेयरको पसल सञ्चालन गरेर व्यवसाय गर्दे आउनुभएको थियो ।