• १३ साउन २०८१, आइतबार

पर्यटक वृद्धिसँगै खोप्रालेकमा लजको विस्तार

blog

खोप्रालेकबाट देखिएको धौलागिरि हिमालको दृश्य र यहाँ संचालन गरिएको सामुदायिक लज । तस्विरः ठाकुरप्रसाद आचार्य

म्याग्दी, भदौं ३१ गते । म्याग्दीको सुन्दर पर्यटकीयस्थल खोप्रालेकमा स्थानीयहरूले होटलको क्षमता विस्तार गरेका छन् । अन्नपूर्ण गाउँपालिका-५ स्थित खोप्रालेकमा पछिल्ला केही वर्ष यता पर्यटक आगमनमा वृद्धि हुन् थालेपछि सामूहिकरूपमा सञ्चालन गरिएको होटलको क्षमता विस्तार गरेका हुन् ।

पाउद्धारका स्थानीयवासीले पाउद्धार पर्यटन सहकारी संस्था स्थापना गरी खोप्रामा पर्यटकहरूका लागि सुविधासम्पन्न  सामुदायिक लज सञ्चालन गरेका छन् । अन्नपूर्ण सामुदायिक पदमार्गमा पर्ने यस क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको निकै चाप हुनथालेको छ । 

यसअघि २० वटा कोठामा ४० जनालाई बास बस्न मिल्ने क्षमता रहेकोमा सहकारीले थप ८ कोठा क्षमताको आवास भवन निर्माण गरेको छ । सुविधायुक्त आवास भवन बनाउन डिभिजन वन कार्यालय म्याग्दीले गतवर्ष १३ लाख बजेट उपलब्ध गराएको र यस वर्ष सहकारीले  साढे २८ लाख रुपियाँ खर्च गरेको सहकारीका संस्थापक अध्यक्ष राजेश तिलिजाले जानकारी दिनुभयो । सिजनका समयमा खोप्रामा पर्यटक बढ्न थालेपछि हामीले पर्यटकको सुविधाका लागि लजको क्षमता विस्तार गरेका हौँ उहाँले भन्नुभयो ‘उचाइमा रहेको यसक्षेत्रमा पर्यटन पूर्वाधारको निर्माण गर्न निकै नै कठिन छ ।’ 

वडा नम्बर ५ का वडाध्यक्ष समेत रहनुभएका तिलिजाले लजको क्षमता विस्तारपछि खोप्रामा पर्यटन आगमनमा थप वृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो । महावीर पुनको अगुवाइमा यसअघि पाउद्वार मावि र हिमाञ्चल माविले संयुक्त रूपमा यहाँ सामुदायिक होटल सञ्चालन गर्दै आएका थिए । 

दुई वर्ष अघि होटललाई पर्यटन सहकारी मार्फत ल्याएर सञ्चालन गरिँदै आएको छ । सहकारीमा एकसय पचास जना स्थानीयवासी सदस्य छन् । पर्यटनको लाभ समुदाय स्तरसम्म पुर्‍याउन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनको अवधारणा अनुसार नेपालमै पहिलो पटक सहकारी मार्फत होटल सञ्चालनमा ल्याइएको पाउद्धारका स्थानीय तथा खोप्रा पर्यटन अभियन्ता राजु पुनले बताउनुभयो । खोप्रामा निजी स्तरबाट होटल सञ्चालन गर्न पाइँदैन । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को  अनुमति लिएर मात्र होटल सञ्चालन गर्न पाइने उहाँले बताउनुभयो । 

खोप्रालेक समेटिएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग पुनकै नेतृत्वमा डेढ दशक अघिदेखि सञ्चालनमा ल्याइएको थियो । खोप्राको होटललाई हिमाली क्षेत्रमा समेत धुवाँरहित बनाउने अवधारणा अनुसार अघि बढाइएको छ । शेयर सदस्यमार्फत सङ्कलन भएको शेयर रकमलाई पर्यटन पूर्वाधार विस्तारमा लगानी गर्न थालिएको छ । ९१ लाख शेयर पुँजी मौज्दात रहेको सहकारीका संस्थापक अध्यक्ष तिलिजाले बताउनुभयो । सहकारीले तीनजना कर्मचारी नियुक्त गरी नियमित रूपमा खोप्रामा होटल सञ्चालन गरिरहेको छ ।

सिजनको समयमा पर्यटकको चाप हुने गरेको होटलका कर्मचारी आदेश तिलिजाले बताउनुभयो । अहिले हाम्रो ६० जना सम्मलाई आवास सुविधा दिन सक्ने क्षमता छ तिलिजाले भन्नुभयो ‘भ्रमण आउनु अगावै कोठा बुकिङ गर्नुपर्दछ । सिजनका समयमा धेरै पर्यटक आउने हुँदा हामीले टेन्टको पनि व्यवस्था गरेका छौँ ।’ खोप्राको भ्रमणमा आउने पर्यटकलाई असुविधा नहोस् भनेर हाम्रो क्षमताले भ्याएसम्म व्यवस्थापन गरेका छौँ उहाँले भन्नुभयो । भदौदेखि मङ्सिर र फागुनदेखि जेठसम्म मुख्य दुई सिजनमा पर्यटकहरूको आगमन बढी हुने खोप्रा पदयात्रामा पर्यटकको घुम्ने अवधि बढाउन स्थानीयवासीले पाउद्धार तातोपानी–गोनपानी–चित्रे–भालखारा–खोप्रा–खयर हुँदै पाउद्धार गाउँ जोड्ने गरी नयाँ पर्यटकीय पदमार्गलाई सञ्चालनमा ल्याउने तयारी गरेका छन् । 

समुद्री सतहदेखि ३६१० मिटर उचाइमा अवस्थित खोप्रा डाँडाबाट अन्नपूर्ण, निलगिरी, धौलागिरि, गुर्जा, चुरेन लगायतका दर्जन बढी हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ । विश्वमै प्राकृतिक दृश्यको आधारमा उत्कृष्ट मानिएको अन्नपूर्ण पदमार्ग (ट्रेकिङ रुट) भएकाले यहाँको पदयात्रामा आउने पर्यटकले अविस्मरणीय सुन्दर प्राकृतिक दृश्यहरूको अवलोकन गर्न पाउँछन् ।  अन्नपूर्ण संरक्षण क्षेत्र चितुवा, कस्तुरी मृग, चिरु, तिब्बती गधा, तिब्बती खरायो, नाउर जस्ता विभिन्न जनावर र हिमाली वनस्पतिका लागि प्रख्यात छ । साथै विभिन्न जनजातिको मौलिक कलासंस्कृति,भेषभूषा र रहनसहनका हिसाबले पनि यो क्षेत्र उत्कृष्ट छ । 

Author

ठाकुरप्रसाद आचार्य