स्टकहोम, भदौ ३० गते । आम निर्वाचनमा दक्षिणपन्थी समूह झिनो बहुमतले विजयी भएपछि स्विडेनका प्रधानमन्त्रीले औपचारिक रूपमा राजीनामा गरेकी छन् ।
स्विडेनको सोसियल डेमोक्र्याटिक दलका प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले स्वीडेनको संसदमा राष्ट्रवादी एवम् अध्यागमन विरोधी समूह सम्मिलित दक्षिणपन्थी गुटले झिनो बहुमत पाएपछि राजीनामा दिनुभएको हो ।
एन्डरसनले स्वीडेनको तीन सय ४९ सदस्यीय संसद् रिक्सडागका सभामुख एन्ड्रियास नोर्लेनसमक्ष औपचारिकरूपमा आज बिहीबार राजीनामा दिनुभएको हो । सभामुखले उहाँको राजीनामा स्वीकृत गर्नुभएको छ । उहाँले नयाँ सरकार गठन नभएसम्म कामचलाऊ प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्नुहुनेछ ।
सभामुख नोर्लेनले आगामी साता पार्टीका नेताहरूसँग वार्ता सुरु गर्ने जानकारी दिनुभएको छ । उहाँले दक्षिणपन्थी नेता उल्फ क्रिस्टर्सनलाई गठबन्धन सरकार गठनको प्रयास गर्न आग्रह गर्ने अपेक्षा गरिएको छ । आइतबारको आम निर्वाचनमा दक्षिणपन्थी समूहले एक सय ७६ र बामपन्थी गुटले एक सय ७३ स्थानमा जित हासिल गरेका थिए । रासस/एपी