• ६ पुस २०८१, शनिबार

बजार क्षेत्रकै सडक विस्तार अलपत्र

blog

रजनी योगी

सुर्खेत, भदौ ३० गते । वीरेन्द्रनगर नगरपालिकाकाले मुख्य बजार क्षेत्रको सडक विस्तार योजनाको काम अघि बढाउन सकेको छैन। सडक विस्तार योजना एक वर्षदेखि अलपत्र छ। नगरपालिकाले बारम्बार सूचना जारी गरी अतिक्रमित क्षेत्रबाट घरटहरा, टेलिफोन तथा खानेपानीका पाइपलाइन, पर्खालजस्ता संरचना हटाउन आग्रह गर्दै आएको छ। 

सडक विस्तार तथा स्तरोन्नतिका लागि सम्झौता भएको एक वर्ष बितिसक्दा पनि काममा उल्लेखनीय प्रगति भएको देखिएको छैन। गत वर्ष भदौ १७ गते सडक स्तरोन्नतिका लागि सम्झौता भएको थियो। निर्माण कम्पनीले २०८० जेठ मसान्तसम्म उक्त सडक निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ। समय निकै घर्किसक्दा पनि नगरपालिकालाई सडक क्षेत्रका संरचना हटाउन हम्मेहम्मे परेको छ। विद्युत्, खानेपानीजस्ता सेवा प्रदायक निकायले समेत आफ्ना संरचना सार्न ढिलाइ गर्दा सडक विस्तारको काम प्रभावित बनेको हो।

निर्माण सम्झौतामा बजार क्षेत्रको सडक विस्तारको काम १८ महिनामा गरिसक्नुपर्ने भनिएको छ। नगरपालिकाले सडक क्षेत्र खाली गर्न यसअघि पटक–पटक सरोकारवालासँग छलफल र अनुरोध गरे पनि त्यस्ता संरचना नहटाएपछि सात दिने सूचना नै जारी गरेको छ। तर, नगरपालिका ‘एक्सन’मा जान सकेको छैन। जसले गर्दा लामो समयदेखि सडक स्तरोन्नति र फुटपाथ व्यवस्थापनको योजना अलपत्र परेको छ।

वीरेन्द्रनगर नगरपालिकाले भदौ २१ गते सार्वजनिक सूचना जारी गरी ‘मुख्य बजारमा सडक स्तरोन्नतिको काम भइरहेकाले मङ्गलगढीदेखि गणेशचोकसम्मको सडक क्षेत्रमा रहेका सेवा प्रदायक संस्थाका संरचना र सडक क्षेत्राधिकारभित्र पर्ने नक्सा पास नगरी बनाइएका भौतिक संरचना सात दिनभित्र हटाइसक्नु’ भन्ने उर्दी पुनः जारी गरेको छ। यद्यपि नगरपालिकाको सूचनालाई सडक आसपासका नागरिकले बेवास्ता गरेका छन्। सूचना जारी भएको एक साता बितिसकेको छ। सडक क्षेत्र भने जस्ताको त्यस्तै छ। विस्तार क्षेत्र खाली भएको छैन। यो अवधिमा न बजार क्षेत्रमा अव्यवस्थित रूपमा निर्माण गरिएका संरचना हटाइएको छ न त फुटपाथ मिचेर गरिँदै आएका व्यवसायको व्यवस्थापन भएको छ। नगरपालिकालाई अव्यवस्थित संरचना हटाउनै मुस्किल भएपछि निर्माणको काम झन्झन् पर धकेलिएको छ। अव्यवस्थित रूपमा संरचना निर्माण गरेर बसेकालाई हटाउन समस्या भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले बताउनुभयो। सडक क्षेत्र खाली गराउन ढिलोचाँडो नगरपालिका ‘एक्सन’मा जाने उहाँको भनाइ छ।

यता नगरपालिकाले अवैध संरचना हटाउने कामको थालनी गरिसकेको नगरप्रमुख मोहनमाया ढकालको दाबी छ। नगरप्रमुख ढकाल भन्नहुन्छ, “बुधबारदेखि सीसी क्यामरा सार्ने र तारहरू हटाउने काम भइरहेको छ। केही दिनमा सडक क्षेत्रका सबै संरचना हटाइनेछ। त्यसपछि भने सडक विस्तारको योजनाले गति लिन्छ।” 

तोकिएको म्यादमा त्यस्ता संरचना नहटाउनेलाई कानुनी प्रक्रियामा ल्याइने नगरप्रमुख ढकालले बताउनुभयो। ठेकेदार कम्पनीले ‘साइड क्लियर’ नभएकै कारण निर्माणको काम अपेक्षित रूपमा अघि बढ्न नसकेको बताउँदै आएको छ। सो सडकसहित बजार क्षेत्रका अन्य केही भित्री सडकको स्तरोन्नतिको जिम्मा पनि खड्का निर्माण सेवा बाँकेले पाएको छ। बजार क्षेत्रको सडक फराकिलो बनाउने बजेट व्यवस्थापन र सम्झौता कार्य पूर्वाधार विकास निर्देशनालयबाट भए पनि यसको स्वामित्व स्थानीय सरकारका रूपमा वीरेन्द्रनगर नगरपालिकाले लिएको छ।

निर्माण कम्पनीले भित्री सडकको काम गरिरहेको पूर्वाधार विकास निर्देशनालयका इन्जिनियर सूर्य शाहीले जनाउनुभयो। सडकको विस्तारमा सरोकारवाला निकायबीच समन्वयको अभाव हुँदा पनि केही ढिलाइ हुन गएको उहाँले बताउनुभयो। वीरेन्द्रनगरको मङ्गलगढीदेखि गणेशचोकसम्म हाल सात मिटर चौडा सडक रहेकोमा त्यसलाई स्तरोन्नति गरी १५ मिटर चौडाइको बनाइँदै छ।