• १३ साउन २०८१, आइतबार

सार्वजनिक जग्गाको संरक्षण

blog

मानिसमा लोकलाज, धर्म, पाप, पुण्य, कानुनकाइदा आदिको विचार हुन सक्यो भने समाजमा सदाचार कायम हुन सक्छ। यी कुराको विचार नगर्दा समाजमा अनेक अराजकता देखा पर्छन्। लोकलाज, धर्म, पाप, पुण्य, कानुनकाइदा आदिको अभावमा समाजमा विभिन्न किसिमका विसङ्गति देखिन्छन्। अहिले यस्तै अनेक घटना देखिन थालेका छन्। काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालस्थित एक सार्वजनिक चरिचरन स्थल दशकौँ अघिदेखि व्यक्तिको नाममा दर्ता भएको मात्र प्रकाशमा आएको छ। सार्वजनिक जग्गा दर्ता मात्र होइन, सोही जमिनलाई बैङ्कमा धितो राखेर ऋण लिइएको अवस्थासमेत छ। लिएको ऋण समयमा तिरेको पाइएन। ऋण नतिरेपछि यो जग्गा लिलामी भएको सूचना पत्रिकामा प्रकाशित भएपछि मात्र स्थानीयले जानकारी पाए। स्थानीयले जानकारी पाउनसमेत वर्षौं लाग्यो। 

स्थानीयले तत्कालीन पाँचखाल गाउँ विकास समितिको विभिन्न वडामा विस्तार भएको यो सार्वजनिक चरिचरन, पानीघाटलगायतमा प्रयोग गर्दथे। तर दुई दशकपछि यो झन्डै ३० रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको रहस्य खुल्न आएको छ। अर्थात् २०४८ सालमा नै यो जग्गालाई भूमाफियाहरूले स्थानीय मालपोतमा लेखापढी काम गर्ने व्यक्तिको सहयोगमा निजका नातेदारका नाममा दर्ता गराइसकेका थिए। यसरी सार्वजनिक हितका लागि प्रयोग हुँदै आएको सार्वजनिक जग्गाबारे गत वर्ष स्थानीयले विरोध गरेपछि जग्गाका कथित मालिकले नै सो जग्गा आफ्नो नभएर सार्वजनिक भएको कागज गरिदिएको समेत 

जानकारीमा आएको छ। 

प्रारम्भिक प्रमाण र सार्वजनिक भएको समाचारले सो जग्गा सार्वजनिक हो भन्नेमा कुनै शङ्का नै छैन। अब विधि र प्रक्रिया पु¥याएर फेरि यो जग्गालाई सार्वजनिक बनाइनु जरुरी छ। यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो दिएको छ। अख्तियारले अब आफ्नो प्रक्रिया अगाडि बढाउँला। अब चाँडै सो जग्गा पुनः सार्वजनिक हुनु जरुरी छ। यस सन्दर्भमा सम्बन्धित स्थानीय तह, मालपोत कार्यालयले आवश्यक प्रक्रिया अगाडि बढाउन ढिला गर्नु हुन्न। सो जमिनलाई पुनः सार्वजनिक नै गर्ने कामको थालनीसमेत भएको छ। स्थानीयको सहभागितामा उठाइएको स्थलगत मुचुल्कामा स्थानीय जनप्रतिनिधि, मालपोत तथा नापी कार्यालयका प्रतिनिधिको उपस्थितिमा सो जग्गा ‘सार्वजनिक नै भएको’ उल्लेख गरिएबाट यसमा वस्तुतः कुनै समस्या उल्झनको सम्भावना देखिँदैन।

 यो प्रसङ्ग एउटा घटना हो। यसबाट धेरै शिक्षा लिन सकिन्छ। नेपाली समाजमा नैतिक मूल्य र मान्यता कसरी ह्रासोन्मुख भइरहेको छ भन्ने तथ्य बुझ्नसमेत यो पर्याप्त छ। हिजोका दिनमा हाम्रा पूर्वजले सार्वजनिक हितका निम्ति आफ्नो चलअचल सम्पत्ति दान गर्ने परम्पराबाट अनुप्राणित नेपाली समाजमा वर्तमानमा सार्वजनिक जग्गा हडप्ने प्रवृत्ति देखिनु वास्तवमै अति दुःखलाग्दो विषय हो। मुलुकमा अहिले मिटरब्याजीको समस्या निकै चर्को रूपमा देखिएको छ। यसको मुख्य कारण बैङ्क तथा वित्तीय संस्थाले सहज तथा सरल रूपमा सर्वसाधारणलाई ऋण उपलब्ध नगराउनु नै हो। 

धितोका लागि राखिने जग्गाका सम्बन्धमा निकै कठिन किसिमका व्यवस्था गरेका कारण सामान्य जनताले निकै समस्या बेहोरिन परिरहेको यथार्थ हो। तर पाँचखालको यस सार्वजनिक जग्गाका सम्बन्धमा वित्तीय संस्थाले धितो राख्ने जमिनको कुनै अध्ययन अनुसन्धान बिना निकै सहज रूपमा ऋण प्रवाह गरेको देखिन्छ। यसको सोझो अर्थ हुन्छ, वित्तीय संस्थाका कर्मचारीको पनि यसमा मिलेमतो रहेको स्पष्ट छ। उनीहरूले यस जग्गाका बारेमा थोरै मात्र जानकारी राखेका भए यो अवस्था आउन सक्ने थिएन। धितो राख्ने जग्गा जमिनबारे बैङ्क तथा वित्तीय संस्थाहरूले गम्भीर विचार विश्लेषण गर्नु जरुरी देखिएको छ। राजमार्ग नजिकको सो जमिनका अहिले बजार मूल्य निकै उच्च देखिएको छ। स्थानीयले वर्तमान बजार मूल्यअनुसार ५० करोड धनराशि हाराहारी मूल्यको सो जग्गा रहेको अनुमान गरेका छन्। वास्तवमा सो जग्गा प्रकरण एक प्रतिनिधिमूलक घटना हो। यस किसिमबाट मुलुकका सबै क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण भइरहेका छन्। यस किसिमका समस्या समाधान तथा नियन्त्रणका निम्ति स्थानीय बासिन्दा, स्थानीय तह र सरोकार निकाय गम्भीर हुनुपर्ने देखिन्छ।