• ९ मंसिर २०८१, आइतबार

सरकारी कार्यालयले नेपाली उत्पादन प्रयोग गर्नुपर्छ : महामन्त्री थापा

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ २९ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमै उत्पादित सामग्री सरकारी कार्यालयमा प्रयोग हुनसके मुलुकको अर्थतन्त्र सुधार गर्न सकिने बताउनुभएको छ । बुधवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

महामन्त्री थापाले सरकारी कार्यालयमा प्रयोग हुने ७० देखि ८० प्रतिशत वस्तुहरु नेपाली उत्पादन हुनसके मुलुकको अर्थतन्त्र सुधार गर्न सकिने बताउनुभयो । विगतमा नेपाली उत्पादनका वस्तुमा १० देखि १५ प्रतिशत बढी शुल्क तिरेर प्रयोग गर्ने नीतिले काम नगरेको उहाँको भनाई छ । सरकारी कार्यालयमा अनिवार्य रुपमा नेपालमा उत्पादित सामानको प्रयोग गर्नुपर्ने व्यवस्था गर्नुपर्छ उहाँले भन्नुभयो ।

महामन्त्री थापाले सरकारी कार्यालयहरुमा एक वर्षमा प्रयोग हुने सम्पूर्ण सामानको ७० देखि ८० प्रतिशत नेपाली वस्तु प्रयोग गर्नसके नेपाली उत्पादन उद्योग फस्टाउने दावी गर्नुभयो । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले प्रयोग गर्ने जुत्ता, सरकारी कार्यालयमा प्रयोग गर्ने फर्निचर नेपालकै प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

महामन्त्री थापाले भाटभटेनीजस्ता डिपार्टमेन्ट स्टोरहरुमा सरकारले अनुदान वा करमा छुट दिएर स्टोरमा २० प्रतिशत नेपाली उत्पादनका सामानलाई राख्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । सरकारी कार्यालयमा नेपाली उत्पादनको प्रयोग, सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोरमा २० प्रतिशत नेपाली उत्पादन कायम गर्नसके नेपाली उत्पादनलाई स्थापित गर्न सकिने बताउनुभयो । नेपाली सामानलाई धेरै अनुदान र सहुलियत दिनुपर्ने जरुरी नभएको भन्दै निजी क्षेत्रले पनि अनुदान र सहुलियत नभएर नीतिगत सहजता खोजेको उहाँको भनाई छ । 

उहाँले भन्नुभयो, ‘सरकारले आर्थिक ऐनमा नेपाली उत्पादन १० देखि १५ प्रतिशत शुल्क तिरेर किन्न सकिन्छ ।” सरकारी अड्डाहरुले आफूले किन्ने वस्तुको कम्तिमा ७० देखि ८० प्रतिशत नेपाली वस्तु किन्नुपर्छ उहाँले भन्नुभयो । सरकारले नेपाली उत्पादनको लागि नीतिगत सहजता बनाइदिए १० वर्षमा फूटवेयरमा, कन्ट्रक्सन, टेष्ट टाइल लगायतका उत्पादनमा निर्यात गरेर मुलुकको आर्थिक अवस्था सुधार गर्नसकिने उहाँले बताउनुभयो ।