• १३ साउन २०८१, आइतबार

बुटवलमा बन्ने सिग्नेचर पुलको डिजाइन तयार

blog

सिग्नेचर पुलका विषयमा विश्व बैंकका प्रतिनिधिसँग छलफल गरिदै । तस्बिर : छविलाल पाण्डे

छविलाल पाण्डे 

बुटवल, भदौ २९ गते । बुटवलको तिनाउ नदीमा बन्ने सिग्नेचर पुलको आर्किटेक र स्ट्रक्चर डिजाइन तयार भएको छ । भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टिङले आर्किटेक डिजाइन तयार पारेको छ । पुलको स्ट्रक्चर डिजाइन भने स्विस सरकारको स्विस डेभलपमेन्ट कोअपरेशनले गरेको हो । पुलको डिजाइन तयार पारेको नेपाली र विदेशी इन्जिनियरले बुटवलका जनप्रतिनिधिसँग छलफल गरेका छन् । के हो सिग्नेचर पुल 

सिग्नेचर पुल सामान्य पुलजस्तै मोटरेबल भए पनि नयाँ प्रविधिबाट निर्माण हुने पुल हो । झट्ट देख्दा नेटवर्क आर्क ब्रिजजस्तै देखिने भए पनि यो आर्क ब्रिजभन्दा अझ आकर्षक हुन्छ । मानिसले सिग्नेचर गर्दा जसरी अक्षरलाई घुमाएर बाङ्गोटिङ्गो बनाउँछन् सिग्नेचर ब्रिजको डिजाइन पनि त्यही प्रकृतिको हुन्छ । पुल चार लेनको बन्नेगरी डिजाइन तयार भएको छ । प्रत्येक लेनको बीचमा डिभाइडर रहनेछ । पैदल यात्रुका लागि हिँड्ने फराकिलो फुटपाथ रहने छ । 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले चिनियाँ, भारतीय, स्विस र नेपालका पुल विज्ञसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक र स्ट्रक्चर डिजाइन तयार भइसकेको बताउनुभयो । डिजाइनअनुसार पुल निर्माण प्रक्रिया अघि बढाउन विश्व बैङ्कका प्रतिनिधिसँग छलफल गरेको उहाँले बताउनुभयो । 

पुल निर्माणका क्रममा आवश्यक पर्ने जग्गा व्यवस्थापन र पुल आसपासक क्षेत्रको बस्तीलाई के गर्ने भन्ने विषयमा थप अध्ययन गरेर निर्णय गरिने उहाँको भनाई छ । बुटवल उपमहानगरपालिकाको कार्यालयमा विश्व बैङ्कका प्रतिनिधिले मङ्गलबार बुटवलका जनप्रतिनिधि र सरोकारवालासँग पुलको आर्किटेक डिजाइन, यसले ओगट्ने क्षेत्र र पार्ने प्रभावका बिषयमा छलफल गरेका छन् ।   

पाण्डेले यो पुल निर्माणबाट बुटवलको जितगढी किल्ला, युद्ध सङ्ग्रहालय, बुटवलको पुरानो बस्ती, मन्दिर र मस्जिदका बीचमा समेत मैत्रीभाव राख्ने सन्देश दिनेगरी पुल बन्ने बताउनुभयो । 

पुल निर्माणसँगै पुलको वारिपारि चेक ड्याम बनाएर तलाउ बनाइने र नदी किनारमा आरती गर्ने, रात्रिकालीन बजारमा रमाउने गरी लाइटिङ गरिने पाण्डेले जानकारी दिनुभयो । छलफलका क्रममा विश्व बैङ्कका दक्षिण एसिया सहरी विकास इकाइका वरिष्ठ सहरी विकास योजनाकार स्टेफनिया अबकेर्लीले तिनाउमा बन्ने पुल नेपालकै नमुना हुने विश्वास व्यक्त गर्नुभयो ।

पुल निर्माण क्षेत्र पर्यटकीय स्थलसँग जोडिएकाले यसले स्थानीय बासिन्दा र स्थानीय सरकारलाई लाभ दिलाउने उहाँको भनाई छ ।