• १३ साउन २०८१, आइतबार

अस्पताल ढिला आउने चिकित्सकलाई प्रवेशमा रोक

blog

खजुरास्थित क्यान्सर अस्पताल । तस्बिर : सिराज खान

सिराज खान

नेपालगञ्ज, भदौ २९ गते । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल व्यवस्थापनले १० बजेभित्र अस्पतालमा उपस्थित नहुने डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीलाई छिर्न प्रवेश गर्नबाट रोकेको छ । 

१० बजेभित्र कार्यालयमा उपस्थित नहुनेलाई छिर्न नदिने र अस्पताल समयमा बाहिर जान खोज्नेलाई जान नदिने नियम बनाएर सोही बमोजिम गर्न सुरक्षा गार्डलाई निर्देशन दिएको छ । 

अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष टेकेन्द्र मल्लले भदौ २७ को समितिको बैठकबाट निर्णय गरी सूचना टाँस गरेर समयमै कार्यालय नआउने कर्मचारीलाई रोक्न गार्डलाई निर्देशन दिएको बताउनुभयो । 

बिहान १० बजेपछि आउने जुनसुकै चिकित्सकलाई गेटभित्र पस्न नपाउने निर्णय गरेको जनाउँदै उहाँले सो बारेमा अस्पतालका सबै चिकित्सक र कर्मचारीलाई जानकारी गराइसकेको बताउनुभयो । 

जतिबेला मन लागे अस्पतालमा आउने र मन लागेको बेला बाहिर निस्कने काम अब गर्न नपाइने अस्पताल विकास समितिले जनाएको छ । भदौ २३ गते अस्पताल विकास समितिमा पदबहाल गर्नुभएका अध्यक्ष मल्लले पाँच दिनभित्र यस्तो नियम बनाएर अस्पताल सुधारको थालनी गरेको जानकारी दिनुभयो । 

सोही बमोजिम ढिला आउने केही चिकित्सक र कर्मचारीलाई गेटबाटै फर्काइएको छ । ढिला  आउने सो अस्पतालका चिकित्सक डा. प्रवीण गुप्ताले १० मिनेट ढिला आउँदा आफूमाथि गार्डले दुर्व्यवहार गरेको बताउनुभयो ।  

अस्पतालका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद आचार्यले विज्ञप्ति निकालेर गार्डलाई ढिला आउनेलाई रोक्न निर्देशन दिइएको बताउनुभयो । ‘समिति बैठकको निर्णयका आधारमा अस्पताल गेटमा कार्यरत सुरक्षागार्डलाई निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको हुँदा कार्यालय समयभित्र प्रवेश गरिसक्न सबैलाई जानकारी गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ ।