• १३ साउन २०८१, आइतबार

खप्तडको प्रवेशद्वार झिंग्रानामा बल्ल पुग्यो बिजुली बत्ती

blog

झिंग्रानामा विस्तारित विद्युत लाइनको उद्घाटन गर्नु हुँदै पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्याय । तस्बिर : गोरखापत्र

केशवचन्द्र महरा 

दिपायल भाद्र २९ गते । भू-स्वर्गका नामले चिनिने खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार झिंग्रानामा पहिलो पटक बिजुली बत्ती पुगेको छ । पूर्वीचौकी गाउँपालिका–२ मा रहेको झिंग्राना र त्यस वरपरका गाउँमा बत्ती बलेपछि स्थानीयसँगै खप्तड जाने पर्यटकलाई पनि सहज हुने भएको छ ।

पूर्वीचौकी गाउँपालिको पहलमा विद्युत् प्राधिकरण डोटी वितरण केन्द्रले राष्ट्रिय प्रसारणको थ्रीफेज विद्युत् लाइन विस्तार गरेको हो । विस्तारित विद्युत् लाइनको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले उद्घाटन गर्नु भएको छ ।

विद्युत् विस्तार भएसँगै सो बाटो भएर खप्तड जाने पर्यटकसँगै त्यस वडाका ६० घरधुरी लाभान्वित हुने डोटी वितरण केन्द्रका प्रमुख राजेन्द्र लाल देवले बताउनु भयो । झिंग्राना भएर खप्तड जान बर्सेनि हजारौैं पर्यटकहरू आउने गरेको खप्तड होमस्टेका सञ्चालक दिपक बहादुर खड्काले बताउनुभयो । 

यसअघि विद्युत् नहुँदा खप्तड जाँदा आउँदा यहाँ बास बस्ने पर्यटकहरूलाई समस्या हुने गरेको थियो,“उहाँले भन्नुभयो,“मोबाइल, क्यामेरा, टर्च जस्ता सामग्रीहरू चार्ज गर्न समेत समस्या हुन्थ्यो । पर्यटकहरूले अँध्यारोमा रात बिताउनु पर्ने अवस्था थियो । विद्युत् पुगेसँगै पर्यटकलाई पनि सहज हुने भएको छ ।”

पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष उपाध्यायले गाउँपालिकाका सबै टोल र बस्तीहरूमा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने योजना रहेको बताए । खप्तडमा आउने पर्यटक, यहाँको सुरक्षार्थ खटिएका नेपाली सेना, राष्ट्रिय निकुञ्जका कर्मचारी, यहाँका व्यवसायी र वरपरका बासिन्दाहरूलाई लक्षित गरेर झिंग्रानामा विद्युत् लाइन विस्तार गरिएको बताउँदै उहाँले गाउँपालिकाका विद्युत् नपुगेका अन्य क्षेत्रमा पनि चाँडै विद्युत् सेवा विस्तार गरिने बताउनु भयो ।