• १३ साउन २०८१, आइतबार

गहवामाई मन्दिरको सौन्दर्यीकरण

blog

पर्सा समाचारदाता 

पर्सा, भदौ २९ गते । गहवामाई मन्दिर परिसरको सौन्दर्यीकरण कार्यले गति लिएको छ। अत्यन्त प्राचीन र तराई मधेशलगायतका अन्य जिल्ला र सीमावर्ती क्षेत्र भारतमा समेत शक्तिपीठका रूपमा ख्याति पाएको गहवामाई मन्दिर परिसरको सौन्दर्यीकरण गर्ने काम वीरगञ्ज महानगरपालिकाले सुरु गरेको हो। 

सहरको बीच भाग माईस्थानमा अवस्थित गहवामाई मन्दिरलाई माईस्थान मन्दिर पनि भनिने गरिन्छ। वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले वीरगञ्जवासीका लागि मात्र नभई हिन्दु धर्मावलम्बीको विश्वास र आस्थाका केन्द्रका रूपमा स्थापित गहवामाई मन्दिरको आधुनिकीकरण र सौन्दर्यीकरणको काम उपभोक्ता समितिमार्फत लगभग ८० लाख रुपियाँको लागतमा भइरहेको बताउनुभयो। मन्दिरको आधुनिकीकरण र सौन्दर्यीकरणको काम घटस्थापना अगावै सम्पन्न हुने उहाँले जानकारी दिनुभयो। 

दशैँको घटस्थापनादेखि दशमीसम्म गहवामाई मन्दिरमा भक्तजनको ठूलो भीड लाग्ने गरेको र अष्टमीका दिन हजारौँको सङ्ख्यामा महिला व्रतालुले खचाखच हुने र भाकलअनुसारको बलि चढाउने गरेकाले घटस्थापना अगावै सबै काम सकिने गरी काम भइरहेको प्रमुख सिंहको भनाइ छ। मन्दिरको स्थापना सम्बन्धित कुनै ठोस प्रमाण नभए पनि लगभग दुई सय पचास वर्षअघि गहवाका कहार परिवारका झाँक्री जिउत महतोले गहवामाई नामकरण गरी माताको सातवटा पिण्ड स्थापना गरी पूजा गर्दै आइरहेकोमा हाल महतोका वंशजमध्येका अच्छेलाल कहारले पूजालाई निरन्तरता दिँदै आएका छन्। मन्दिर जीर्ण रहेकाले तत्कालीन बडाहाकिम र भक्तजनको सहयोगमा मन्दिरको जीर्णोद्धार गरी पक्की रूपमा मन्दिर निर्माण गरेर सातवटै पिण्डलाई चाँदीको कवचले छोपी पूजा हुँदै आएको छ।  

मन्दिर सानो र अव्यवस्थित भएकाले पूजाअर्चना गर्न समस्या भएपछि तत्कालीन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मदनप्रसाद गुप्ताको सक्रियतामा वीरगञ्जका प्रसिद्ध उद्योगपति बाबुलाल अग्रवाल चाचानको संयोजकत्वमा २०६२ सालमा गहवामाई मन्दिर पुनर्निर्माण समिति गठन गरेर लगभग पाँच करोडको लागतमा पाँच वर्षभित्र ठूलो आकारको भव्य मन्दिरको निर्माण कार्य सम्पन्न भएको हो। अहिले मन्दिरको सौन्दर्यीकरण र बिजुलीको काम निरन्तर रूपमा चलिरहेको छ। 

विभिन्न दाताको सहयोगमा माईस्थान मन्दिर परिसरमा दुई करोड रुपियाँको लागतमा श्रीकालभैरव, लक्ष्मीनारायण र शीतलामाता मन्दिर परिसरको निर्माण भइसकेको छ। परिसरभित्र आधुनिक पार्कको निर्माण कार्यले पनि गति लिएको छ। निर्माण स्थल वडा नम्बर ६ का अध्यक्ष जयप्रकाश शाहले मन्दिरको सौन्दर्यीकरणको काम समाप्त भएपछि मन्दिर परिसरभित्र कुनै प्रकारको पसल, टहरा वा मदिराजन्य पदार्थको बिक्री वितरण र सबै प्रकारको सवारीसाधनको आवागमनमा पूर्ण रूपले रोक लगाइने योजना रहेको जानकारी दिनुभयो।