• ९ मंसिर २०८१, आइतबार

आज दुवै सदनको बैठक बस्दै

blog

फाइल तस्बिर ।

काठमाडौं, भदौ २९ गते । आज (बुधबार) सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे सुरु हुनेछ । आजको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनु हुने, गृहमन्त्री बालकृष्ण खाणले कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

यसैगरी आजै राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनु हुने, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई सभा समक्ष टेबुल गर्नुहुनेछ । 

यस्तै विधायन व्यवस्थापन समितिका सभापति डा. वेदुराम भुसालले पशु स्वास्थ्य सेवा परिषद् विधेयक, २०७६ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नुहुने, अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक, २०७५ सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।