• १२ असार २०८१, बुधबार

‘एलसी जारी भएपछि दुई नम्बरी व्यापार फस्टायो’

blog

काठमाडौं,भदौ २८ गते । नेपालमा आयात गरिने विभिन्न वस्तुमा पतित पत्र (एलसी) जारी भएपछि वैदेशिक व्यापारमा असर परेको गुनासो व्यापारीले गरेका छन्। 

नेपाल राजश्व परामर्श समितिले मंगलबार आयोजना गरेको वैदेशिक व्यापार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै व्यापारीले गुनासो गरेका हुन्। अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै समुद्रपार निकासी तथा पैठारी सङ्घका अध्यक्ष विनोदकुमार सिठियाले राष्ट्र बैङ्कले केही आयातका वस्तुमा जारी गरेको एलसीका कारण समस्या भएको बताउनुभयो।

एलसीले वैदेशिक व्यापारमा दुई नम्बरी धन्दा फस्टाएको भन्दै उहाँले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो,‘एलसी जारी भएपछि देशमा दुई नम्बरी व्यापार फस्टाएको छ। सरकारले यो विषयमा सोच्नुपर्छ।’

साथै  सिठियाले विभिन्न आयातित वस्तुको भन्सार शुल्क कम गर्नुपर्ने बताउनुभयो। वैदेशिक व्यापारको सिलसिलामा चीनसँगको नाका सन् २०१५ देखि अहिलेसम्म सहज नभएको उहाँको तर्क छ। 

उहाँले भन्नुभयो, ‘सन् २०१५ मा आएको भूकम्पपश्चात् चीनसँगका नाका सहज भएका छैनन्। राजस्व बढाउनका लागि सरकारले सीमा नाका खोल्न पहल गर्नुपर्छ।’

अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुँदै सदस्य सचिव भूमिराज शर्माले राजस्व सम्बन्धी अध्ययन, अनुसन्धान र विश्लेषण गरी राय सुझाव सङ्कलन गर्ने बताउनुभयो।

समितिले राष्ट्रिय आर्थिक नीतिको आधारमा उपयुक्त र व्यवहारिक कर प्रणालीको विकास गर्न सरकारलाई सुझाव दिने उहाँले बताउनुभयो। 

यस्तै लगानीमैत्री व्यवसायमैत्री कर नीतिको विकास तथा राजस्व सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन र राजस्व सङ्गठन संरचनामा गर्नुपर्ने सुधारका बारेमा पनि सुझाव प्रदान गर्ने छ।

नेपाल राजश्व परामर्श समिति अध्यक्ष महेशप्रसाद दाहालले अन्तरक्रिया कार्यक्रममा उठेका रायलाई समितिले छनौट गरेर सरकारलाई प्रतिवेदन बुझाउने बताउनुभयो। 

प्रत्येक वर्ष समितिले राजस्व नीति र कर सुधार सम्बन्धी प्रतिवेदन हस्तान्तरण गर्दै आएको छ। आर्थिक वर्ष २०७९÷८० मा सरकारलाई हस्तान्तरण गरेको प्रतिवेदनको करिब ६० प्रतिशत राजस्व नीति र कर सुधार सम्बन्धी बुँदा समावेश भएको बताउनुभयो। 

प्रदेश स्तरमा समितिले छलफल चलाउने छ। आगामी आर्थिक वर्षका लागि समितिले चैत्र मसान्तभित्र प्रतिवेदन पेस गर्ने तयारी गरेको छ। समितिले राजस्वका नयाँ क्षेत्र खोज्ने दाहालको भनाइ छ। 

चीनसँगको नाका दशैंअघि खुल्छ 

भन्सार विभागका निर्देशक एवम् उपसचिव मणिराम पौडेलले चीनसँगको रसुवागढी तथा तातोपानी भन्सार नाका दशैंअघि खुल्ने बताउनुभयो। परराष्ट्र मन्त्रालयमा यस विषयमा भएको छलफलमा पनि चीनसँग वार्ता गर्ने र नाका खोल्ने सहमति भएको उहाँको भनाइ छ। 

चीनले शून्य कोभिड नीति अवलम्बन गरेको र नेपालको स्वास्थ्य मापदण्ड चीनको भन्दा खुकुलो भएकाले चीनले नाका सुचारु गर्न आनाकानी गरेको उहाँको भनाइ छ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।