काठमाडौं, भदौ २८ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलालाई आर्थिक रुपले आत्मनिर्भर बनाउन जरुरी रहेको बताउनुभएको छ ।
मङ्गलबार काठमाडौंको बूढानीलकण्ठमा निर्माण गरिएको समाज कल्याण परिषद्को व्यावसायिक तालिम केन्द्र भवनको उद्घाटन गर्नुहुँदै मन्त्री रेग्मीले सो कुरा बताउनुभएको हो ।
मन्त्री रेग्मीले सो भवन महिलाहरुलाई आधारभूत तालिम दिई दक्ष बनाउन उपयोग हुने विश्वास व्यक्त गर्नुभयो । सो भवनलाई उद्देश्यमूलक ढङ्गले सञ्चालन गर्न समाज कल्याण परिषद्का पदाधिकारीलाई निर्देशन दिनुभयो ।
मन्त्री रेग्मीले भन्नुभयो, ‘‘महिलाहरुलाई आत्मनिर्भर बनाउन जरुरी छ । यो तालिम केन्द्र भाडामा लाग्दैन । यसले महिलाहरुलाई तालिम दिएर उपलब्धि मूलक बनाउनेछ । यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार छ ।’’
मन्त्री रेग्मीले महिलाहरुको दक्षता अभिवृद्धि गरी उनीहरुलाई उद्यमी बनाउने काममा मन्त्रालयले पनि सो तालिम केन्द्रलाई आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो ।
कतार च्यारिटीको सहयोगमा निर्माण गरिएको सो भवनमा चार वटा तालिम कोठा, दुई वटा अफिस कोठा, एउटा सेमिनर हल र आठ वटा शौचालय छन् । त्यस अवसरमा महिलाहरुको सिलाइकटाइ तालिमको पनि शुभारम्भ गरिएको थियो । महिलाहरुलाई आयआर्जनको काममा लगाउने उद्देश्यले सो तालिमको शुभारम्भ गरिएको समाज कल्याण परिषद्ले जनाएको छ ।