• ७ जेठ २०८१, सोमबार

चीनको जन कांग्रेस स्थायी समितिका अध्यक्षको नेपाल भ्रमण

बन्द चिनियाँ नाका खोल्न अध्यक्ष तिमिल्सिनाको अनुरोध

blog

जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शुसँग भेट गर्नुहुँदै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना । तस्बिर : सङ्घीय संसद

काठमाडौं, भदौ २८ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बन्द रहेका तातोपानी, केरुङ र कोरालालगायतका नाका खोल्ने कार्यमा सहयोग गर्न जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शुलाई अनुरोध गर्नुभएको छ ।

मङ्गलबार बिहान नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा भएको भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले अध्यक्ष लीसँग चाडबाडको समयमा बन्द रहेका उक्त नाका खोल्ने कार्यमा सहयोग गर्न अनुरोध गनुर्नभएको हो ।

सङ्घीय संसद्का प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार अध्यक्ष तिमिल्सिनाको सो अनुरोधमा चिनियाँ राष्ट्रिय जनकांग्रेसका अध्यक्षले समर्थन गर्नुहुँदै छिट्टै पूरा गर्ने आश्वासन दिनुभएको बताउनुभयो ।


यसैगरी, उक्त भेटवार्तामा दुवै देशको भौगोलिक अखण्डता, शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमिकताको सम्मान गर्दै विगतमा भएका सरसहयोग र सम्बन्धको चर्चा भएको थियो । साथै, आगामी दिनमा आपसी हितका विषयमा काम गर्ने, संसदीय सहयोग आदान प्रदान गर्ने र उच्चस्तरीय भ्रमण गर्ने विषयमा दुवै पक्षबीच छलफल भएको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले विगतका उच्चस्तरीय भ्रमण र दुवै पक्षबीच भएका समझदारीको स्मरण गर्नुहुँदै दुई देशको सम्बन्ध सदियौँदेखि हिमाल जस्तै अटल र नदी जस्तै निर्मल रहेको बताउनुभयो । साथै चीन नेपालको महत्त्वपूर्ण विकास साझेदार रहेकाले नेपालको समृद्धिमा  पुर्‍याएको योगदानका लागि समेत तिमिल्सिनाले धन्यवाद दिनुभएको छ।

यसैगरी, उहाँले एक चीन नीतिको नेपाल पक्षमा रहेको र सुरक्षा चासोमा नेपाल प्रतिबद्ध रहेको जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘विगतमा भएको बेल्ट एण्ड रोड इनिसियटिभ सम्झौता कार्यान्वयन, हिमाल वारपार (केरुङ–काठमाडौं) रेल सेवाको विस्तृत अध्ययन, कोभिडका कारण प्रभावित भएका चिनियाँ कम्पनीले कार्यान्वयन गर्दै गरेका नेपालका परियोजना पुनः सञ्चालन गर्न अध्यक्ष तिमिल्सिनाले अनुरोध गर्नुभयो ।


दुई पक्षीय वार्ता करिब एक घण्टा चलेको थियो । आपसी छलफलको अन्तमा नेपालको संसद्को विकास तथा आपसी सहयोग आदान प्रदान सम्बन्धमा निरन्तर अघि बढ्ने कुरामा दुवै तर्फबाट प्रतिबद्धता व्यक्त भएको थियो । सचिवालय चिनियाँ प्रतिनिधि मण्डलको नेपाल भ्रमण उपलब्धि मूलक र सुखद रहने अपेक्षा गरेकाे छ ।

चिनियाँ पक्षबाट राष्ट्रिय जनकांग्रेसका अध्यक्ष ली चान्शुको नेतृत्वमा प्रतिनिधि मण्डल सहभागी भएको थियो । नेपालका तर्फबाट १८ सदस्यीय प्रतिनिधि मण्डलमा देवेन्द्र दाहाल, गोपीबहादुर सार्की अछामी, रमेशजंग रायमाझी, डा. वेदुराम भुषाल, प्रमिला कुमारी, शेखरकुमार सिंह, तुलप्रसाद विश्वकर्मा, डा. विमला राई पौड्याल, खिमलाल देवकोटा, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाल, परराष्ट्र सचिवलगायतका पदाधिकारी सहभागी हुनुहुन्थ्याे ।