• ७ मंसिर २०८१, शुक्रबार

एनआईसीको केवाईसी सेवा सुरु

blog

काठमाडौँ, भदौ २८ गते । एनआईसी एसिया बैङ्कले भिडियो ग्राहक पहिचान फाराम (केवाईसी) सेवा दिन सुरु गरेको छ । 

‘डिजिटल फस्ट बैङ्क’ बन्ने दीर्घकालीन रणनीतिअनुरूप सम्पूर्ण बैङ्किङ सेवा तथा सुविधा क्रमिक रूपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको यो बैङ्कले ग्राहक पहिचानसम्बन्धी विवरण सङ्कलन तथा अद्यावधिक गर्न सकिने सो सेवाको शुभारम्भ गरेको हो । बैङ्कमा अनलाइन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका ग्राहकले ग्राहक पहिचानसम्बन्धी विवरण बैङ्कलाई सहज रूपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।

बैङ्कको वेबसाइटमार्फत अनलाइनबाट खाता खोल्दा ग्राहकलाई केवाईसी विवरण सम्बन्धमा दुई विकल्प राखिएको छ । जसमा ग्राहकले आफ्नो केवाईसी आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्बन्धित बैङ्क कर्मचारीसँग भिडियो कल गरी उक्त विवरण अद्यावधिक गर्ने भन्ने विकल्प दिने व्यवस्था गरिएको छ ।