• १३ साउन २०८१, आइतबार

बाँकेको तीनवटै निर्वाचन क्षेत्र ‘ग्रिन जोनमा’

blog

सिराज खान 

नेपालगञ्ज, भदौ २६ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक भएसँगै जिल्लामा निर्वाचनको माहोल तातिँदै गएको छ। विशेषगरी विभिन्न पार्टीका चर्चित अनुहार (भीआईपी)ले ‘टिकट पाउने र जित्ने’ कुराको सम्बन्धमा बढी चर्चा हुने गरेको छ। 

सर्वसाधारणले चिया पसलदेखि लिएर विभिन्न सभा–समारोहमा समेत चुनावी चर्चा गर्ने तथा आफ्नै किसिमको अड्कलबाजी गर्न थालेका छन्। पश्चिम नेपालको केन्द्र मानिने बाँकेमा चुनावी माहोलले बिस्तारै लय समात्न थालेको छ। 

विभिन्न दलहरूले उम्मेदवार सिफारिस गर्न थालेसँगै गठबन्धनबाट को कस्ले टिकट पाउँछ र कस्ले चुनाव जित्छ भन्ने कुरालाई मतदाता एवं सर्वसाधारणले निकै चाँसोका रूपमा हेरेका छन्। 

हालै सम्पन्न स्थानीय निर्वाचनमा गठबन्धनले अत्यधिक मत ल्याएकाले यहाँको तीनवटै क्षेत्रलाई विजयी हुने क्षेत्र मानेर ग्रिन जोनमा राखिएको छ। क्षेत्र नम्बर १ र २ मा गठबन्धनभित्रकै नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका उम्मेदवार विजयी भएकाले यस पटक पनि ती क्षेत्रमा ती पार्टीहरू कै दाबी रहने अड्कल गरिएको छ। 

बाँके क्षेत्र नम्बर १ बाट विजयी हुनुभएका माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र क्षेत्र नम्बर २ बाट विजयी हुनुभएका जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई आफ्नो निर्वाचन क्षेत्र नछोड्ने अडानमा देखिनुभएको छ। 

क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर उम्मेदवार बन्ने सम्भावना बढी देखिएकाले स्थानीय निर्वाचनको परिणाम हेर्दा सो क्षेत्र पनि गठबन्धनका लागि ग्रिन जोनमै परेको छ। वर्तमान सरकारमा अहिले बाँके जिल्लाबाट दुई जना प्रभावशाली नेताहरू गहतराज र राई सङ्घीयमन्त्री हुनुहुन्छ। 

जिल्लाका दुईवटा क्षेत्रमा गठबन्धनभित्रकै दलले गत निर्वाचनमा विजयी भएकाले यस पटक पनि गत विजेतालाई नै उम्मेदवार बनाउने करिब–करिब पक्का रहेको जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्दिन राई बताउनुहुन्छ। 

गठबन्धनले स्थानीय तहको निर्वाचनमा आठवटै पालिकामा नेकपा एमालेलाई नगरप्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षमा शून्य बनाएको थियो। अब हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि सोही नतिजा दोहोरिने सम्भावना रहेको अध्यक्ष राईको भनाइ छ। क्षेत्र नम्बर १ र ३ मा गठबन्धनका उम्मेदवारलाई एमालेका उम्मेदवारले चुनौती दिनेछन् भने क्षेत्र नम्बर २ मा राप्रपा–एमाले गठबन्धन उम्मेदवार धवल शमशेर राणाले चुनौती दिने आकलन गरिएको छ। 

एमालेबाट क्षेत्र नम्बर १ मा किस्मतकुमार कक्षपति र ३ मा सूर्य ढकालले टिकट पाउने सम्भावना रहेको एमाले नेता कार्यकर्ताको भनाइ छ। स्थानीय तहको निर्वाचनमा वडाहरूमा पाएको मत हेर्दा गठबन्धन निकै बलियो देखिएको कांग्रेस बाँकेका सभापति नारायण गौडलले बताउनुभयो। 

तर, एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जिल्लामा एमालेको पकड अझै पनि निकै राम्रो रहेकाले परिणाम एमालेको पक्षमा आउने दाबी गर्नुहुन्छ। उता, दुई पटक नेपालगञ्जको प्रमुख भइसक्नुभएका राप्रपाका महामन्त्री धवल शमशेर राणाको छवि अब पहिलेको जस्तो छैन। 

उहाँको दोस्रो कार्यकाल निकै विवादित बन्यो। पार्टीमा आएको फुटले पनि प्रभाव पार्ने निश्चित छ। विकासको नाममा सिन्कोसमेत नभाँचेको आरोप उहाँमाथि छ। युवा व्यवसायी दिवाकर खनाल स्वतन्त्र उम्मेदवार भएमा राणाको अवस्था नाजुक बन्ने राजनीतिक विश्लेषकको भनाइ छ।