• ९ मंसिर २०८१, आइतबार

गठबन्धनको विरोध गर्दै गठबन्धनकै खोजी

blog

मकवानपुर समाचारदाता

हेटौँडा, भदौ २६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सत्तारूढ दलहरूको आसन्न निर्वाचन लक्षित गठबन्धनको विरोध गर्नुभएको छ तर उहाँले आफूहरू पनि गठबन्धनको तयारीमा रहेको सङ्केत गर्नुभएको छ । 

राप्रपा नेपाल हेटौँडा नगर समितिले शनिबार हेटौँडामा आयोजना गरेको नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले राष्ट्रवादी शक्ति एकजुट हुनु अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले सानो र सङ्कीर्ण चित्त राखेमा गठबन्धन र सिन्डिकेटको राजनीतिलाई तोड्न नसक्ने बताउँदै सानो, ठूलो र कमजोर भनेर नहेरी सबैलाई एक ठाउँमा ल्याउनु आवश्यक भएको बताउनुभयो । 

‘सात पटक निर्वाचनमा उम्मेदवार भएँ, दुई पटक जितेँ, यो राजनीतिक जीवनको उत्तराद्र्धमा म चुनाव हारेर विश्राम लिन चाहन्नँ’ उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो, मलाई एक पटक जिताइदिनुस् । सत्तारूढ गठबन्धनलाई सिन्डिकेटको सङ्ज्ञा दिँदै अधिकांश समयमा गठबन्धन र गठबन्धनमा रहेका दलहरूको विरोध गर्नुभएका अध्यक्ष थापाले भन्नुभयो, बलियो राष्ट्रवादी शक्ति नबनोस् भन्ने षडयन्त्र भइरहेको छ, यो अवस्थामा राष्ट्रवादी शक्तिहरू र नेकपा एमालेलाई एकजुट हुन आग्रह गर्छु ।

राष्ट्रियतामाथि खतरा परेको समयमा सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई एकजुट बनाउनुपर्ने बताउँदै उहाँले विगतका कमीकमजोरी र त्रुटिलाई सच्याएर राष्ट्रिय स्वाभिमानलाई जिउँदो बनाउन र राष्ट्रवादी शक्तिलाई एक गर्न अग्रसर हुन पूर्वप्रधानमन्त्री केपी ओली र नेकपा एमालेलाई आह्वान गर्नुभयो  ।

‘एमालेसँग कतिपय विषयमा सैद्धान्तिक मतभेद छ, हामी अलग अलग पार्टी हौँ तर केपी ओलीले लिम्पियाधुरासमेत समेटिएको चुच्चे नक्सा बनाएका कारण ओली नेतृत्वको सरकार ढालिएको हो, केपी ओली र एमालेलाई उठ्न दिनु हुँदैन भनेर गठबन्धन बनाउने काम भएको हो’ थापाको भनाइ थियो । उहाँले नाकाबन्दीका समयमा आवाज उठाएका कारण आफू र आफूले नेतृत्व गरेको पार्टीलाई तहस नहस गर्ने कामसमेत विदेशीले गरेको आरोप लगाउनुभयो । 

बाह्य शक्तिहरूले आफ्नो स्वार्थपूर्तिका लागि फरक फरक विचार बोकेका दलहरूलाई एक ठाउँमा ल्याएर राख्ने काम गरेको र गठबन्धनको राजनीतिले नेपालको राष्ट्रवादी शक्तिलाई कमजोर बनाएको उहाँको जिकिर थियो । 

संविधान सभा सदस्य गणेश थापाले राष्ट्रवादी पार्टी एक ठाउँमा उभिनुपर्छ भन्ने मान्यताका साथ एमालेले मकवानपुरमा कमल थापालाई सहयोग गर्छ भन्ने विश्वास व्यक्त गर्नुभयो । राप्रपा नेपाल हेटौँडा उपमहानगर समितिका अध्यक्ष प्रेमलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महामन्त्री राजाराम बर्तौला, जिल्ला अध्यक्ष गुप्रसाद सापकोटा नेपालमा निष्ठाको राजनीति समाप्त भएको बताउनुभयो ।