• १३ साउन २०८१, आइतबार

सिटको बाँडफाँट सम्मानजनक हुनुपर्छ : अध्यक्ष यादव

blog

पिछडा वर्ग महासंघ नेपालको सम्मेलन उदघाटनसत्रमा सहभागी जसपा अध्यक्ष यादव सहित अतिथिहरु । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, भदौ २५ गते । जनता समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मङ्सिर ४ गते हुने निर्वाचनका लागि गठबन्धन दलबीचमा सम्मानजनक तरिकाले सिटको बाँडफाँट हुनुपर्ने बताउनुभएको छ । पिछडा वर्ग महासङ्घ नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई शनिबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा आफू भए पनि सम्मानजनक तरिकाले सिटको बाँडफाँट नभए गठबन्धन अगाडि बढ्न नसक्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “मधेसको शक्तिलाई कमजोर नठान्न म नेपाली काँग्रेस र कम्युनिस्ट पार्टीलाई यहीबाट आग्रह गर्छु ।” 

समानताविना लोकतन्त्र र स्वतन्त्रताको कुनै अर्थ नहुने भन्दै असमानता भएको समाजमा न्याय दिन कठिन हुने उहाँले बताउनुभयो । नेपालको शासन सत्ता र न्यायपालिकामा एउटै समुदायको वर्चस्व कायम रहेको भन्दै समानतामा आधारित समाज निर्माण गर्न कानुनी रूपमा पिछडा वर्गको अधिकार सुनिश्चित हुनुपर्ने उहाँको भनाइ छ । आफ्नो अधिकारका लागि एक ठाउँमा उभिन पिछडा वर्गलाई उहाँले आग्रह गर्नुभयो । 

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले सम्बोधन गर्न सकिने पिछडा वर्गका मागहरू धेरैजसो सम्बोधन भएको बताउनुभयो । असमानता र विभेदविरुद्धमा प्रदेश सरकारले विभिन्न खालका कामहरू गरेको उहाँको भनाई छ । 

पिछडा वर्ग महासङ्घ नेपालका अध्यक्ष भरत महतोको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्यहरू रामअशिष यादव, चमेलीदेवी दास, जनकपुरधाम उपमहानगरपालिकाका पूर्व नगर प्रमुख लाल किशोर साह, युवा नेता जितेन्द्र यादवसहितले सम्मेलनको सफलताको शुभकामना दिनुभयो ।