• ७ मंसिर २०८१, शुक्रबार

बीपीको दार्शनिकतामा ‘मानिस’

blog

“मलाई तह–तह, मान्छेको पल्लो भित्ता छुने कलाकृति मन पर्छ । सात्र्र, क्यामुका कृतिमा त्यो तत्व पाइन्छ अस्तित्वबोधक ।”– बीपी

बीपी कोइरालाको व्यक्तित्वलाई मूलतः दुई आयामका आधारमा चर्चा र विश्लेषण गर्ने गरिएको पाइन्छ । ती दुइटा आयाम हुन्, राजनीतिक र साहित्यिक । उहाँले राजनीति र साहित्यमा आफ्नो अलगअलग दृष्टिकोण रहेको बताउनुभएको छ । उहाँ राजनीतिलाई बन्धनयुक्त र साहित्यलाई बन्धनमुक्त मान्नुहुन्छ । बीपीको व्यक्तित्वमा राजनीतिक र साहित्यिक आयामबाहेकका अन्य पक्षका बारेमा सघन खोजी र अध्ययन भएको भने त्यति पाइँदैन । उहाँले आफ्ना विचारहरू मूलतः राजनीतिक सन्दर्भमा नै बढी लेख्नुभएको र बोल्नुभएको छ । साहित्यमा कथा, उपन्यास, केही कविता उहाँले लेख्नुभएको छ । साहित्यकै सन्दर्भमा उहाँका केही निबन्ध, केही लेख, केही अन्तर्वार्ता र मन्तव्य उपलब्ध छन् । 

बीपीका चिन्तनका दुइटा मूल आधार राजनीति र साहित्य त हुन् नै । यीभन्दा पृथक् उहाँको अर्को दार्शनिक धार पनि रहेको छ । बीपीको राजनीतिक वा साहित्यिक व्यक्तित्वका विश्लेषकद्वारा उहाँका दार्शनिक दृष्टिकोणलाई पनि राजनीति र साहित्यकै अन्तर्यभित्रका सहायक विचारका रूपमा बढी अथ्र्याइएको पाइन्छ । यद्यपि उहाँको दार्शनिकता राजनीति र साहित्यको समानान्तर तर बेग्लै उचाइमा रहेको अनुभव गर्न सकिन्छ । बीपीका दार्शनिक विचारहरूले बरु उहाँको राजनीति र साहित्यलाई डो¥याइएका र बाटो देखाएका छन् । यस हिसाबले उहाँको दार्शनिक चिन्तनलाई राजनीति र साहित्यभन्दा माथि रहेको पनि अनुभव गर्न सकिन्छ ।

बीपीलाई मूलतः मनोविश्लेषणवादी साहित्यकार मानिएको छ । यद्यपि मानव अस्तित्ववादी दार्शनिकका रूपमा उहाँका साहित्यको अध्ययन र विश्लेषण अझै पर्याप्त भइनसकेको अनुभव हुन्छ । बीपीका अस्तित्ववादसम्बन्धी चिन्तनलाई उहाँका अनेक सार्वजनिक मन्तव्यबाट पनि पर्याप्त मनन गर्न सकिन्छ । उहाँले मानिसलाई साहित्य र राजनीतिले नाप्न नसक्ने जीवका रूपमा हेर्नुभएको छ । यसैगरी मानिसलाई इतिहासबाट मात्र नभएर भविष्यबाट प्रेरित हुने प्राणीका रूपमा चिन्तन गर्नुभएको छ; “यो मानवलाई इतिहासले नाप्न सक्दैन । इतिहासभन्दा पनि माथिल्लो छ । भविष्य त इतिहास होइन नि ! इतिहास त भूत हो, भूतकाल । मानव चाहिँ भविष्यको सम्भावनाबाट प्रेरणा पाउने तìव हो । इतिहासबाट प्रेरणा पाउँदैन ।”

विश्वका महान् दार्शनिक एवं स्रष्टा–द्रष्टाहरूद्वारा मानिसलाई इतिहासले पछिल्तिरबाट घचेटेर जबरजस्ती हिँडाइएको प्राणीका रूपमा जुन विश्लेषण गरिँदै आएको छ, बीपी त्यसप्रति सहमत हुनुहुन्न । उहाँ मानिसलाई स्वतन्त्र रूपमा अस्तित्ववान् र सम्भावनाहरूद्वारा डो¥याइएको प्राणीका रूपमा चिन्नुहुन्छ ।

बीपीका दर्शनको केन्द्रबिन्दुमा ‘मानिस’ रहेको छ । उहाँले मानिसको परिभाषा गर्नुभएको छ । मानिस आफ्नो अस्मिता वा ‘स्वतन्त्र सत्ता’ को अधिपति रहेको कुरा त उहाँका साहित्यिक कृतिको अध्ययनबाट ज्ञात हुन्छ नै । त्यस स्वतन्त्र सत्ताको अपेक्षा राख्ने मानिसको व्यक्तित्वको निर्माण उसको चैतन्यभित्र खाँदिएर बसेका अनेक भावनात्मक तìवहरूको सङ्गठित वा एकीकृत शिलाखण्ड वा आधारशीलामा मात्र निर्माण भएको हुन्छ भन्ने कुरामा बीपी सहमत हुनुहुन्न । 

मानिस हुनुको अर्थमा उसको अस्तित्वमा रहिरहने अनेक वृत्तिहरू हुन्छन् । ती अनेक वृत्तिहरू कुनै एकअर्कामा पूरकका रूपमा र कुनै विरोधीका रूपमा पनि अस्तित्वमा रहन्छन् । तिनका बीचमा द्वन्द्व चलिरहन्छ । मानिस ती पूरक वा विरोधी वृत्तिहरूद्वारा निर्मित सञ्जाल हो । तिनको मूल्याङ्कन गणितीय ढङ्गमा गर्न सकिँदैन । आन्तरिक रूपमा द्वन्द्वरत वृत्तिहरूमा बाँधिएर मानिसले बाँच्नुपरेको छ भन्ने बीपीको चिन्तन पाइन्छ; “मेरो विचारमा मानिसको व्यक्तित्व शरीरको परिधिमा बाँधिएर रहे पनि अनेक वृत्तिहरू– जो कुनै कुनै अवसरमा केही आपसमा पूरक छन् भने केही आपसमा विरोधी पनि छन्– को एउटा सञ्जाल हो । यी तमाम वृत्तिहरू गणितका त्यस्ता भिन्न अङ्ग हुन्; जसका या त जोड नै हुन सक्दैनन् र कथंकदाचित जोड्न खोजे पनि तिनले पूर्ण सङ्ख्या बनाउन सक्दैनन् । मानिसले आफूभित्रका यी विभिन्न तìवहरूको अन्तद्र्वन्द्वमा जीवित रहनुपरेको छ ।” 

मानिसको ‘वृत्ति’ भनेको उसको नैसर्गिक वा जन्मजात गुण हो । त्यसलाई परिवर्तन गर्न सहज छैन । उसको वृत्तिलाई ऊ बाँचेको सामाजिक–सांस्कृतिक पर्यावरण वा परिस्थितिले प्रभाव पार्दै जान्छ र त्यो हुर्कंदै पनि जान्छ । वृत्तिहरूका बीचमा भइरहने घर्षणले तिनको बाह्य उपस्थिति बोध पनि गराउँछ । मानिसको व्यक्तित्वको प्रकटीकरण उसका वृत्तिहरूकै आन्तरिक सङ्घर्षबाट निर्मित प्रतिक्रियाका रूपमा रहन्छ । मानिसको पशुतुल्य प्रवृत्ति वा देवत्व प्रवृत्ति उसको आन्तरिक वृत्तिबाट नै क्रमशः निर्माण भइरहेको हुन्छ । आहार, निद्रा, भय वा रागात्मक प्रवृत्ति अन्य प्राणीमा भएजस्तै आममानिसमा पनि रहन्छ । यस्तो प्रवृत्तिले मानिसलाई माथि उठ्न दिँदैन । त्यसभन्दा माथि उठेर देवत्व चैतन्यलाई आत्मसात् गरी अति मानवको तहमा पु¥याउने सामथ्र्य पनि मानिसमै रहन्छ । दुवैखाले सामथ्र्यको निर्माणमा मानिसभित्रका अनेक स्वतन्त्र वृत्तिका एकाइहरूले भूमिका निर्वाह गरेका हुन्छन् । 

त्यस्ता स्वतन्त्र वृत्तिहरूको महासङ्घ जस्तो हो– मानव जीवन । मानिस अन्तद्र्वन्द्वमय भएर बाँच्दछ । ऊ न त पशुत्वमा फर्कन सक्छ न त देवत्वमा आरोहण गर्न सक्छ । मानिस स्वतन्त्र वृत्तिहरूको सञ्जाल भएको हुँदा उसलाई यथार्थमा चिन्न सकिँदैन भन्नु हुन्छ बीपी; “मानिस एकाइ होइन । ऊ विभिन्न वृत्तिबाट विभाजित प्राणी हो । ऊ स्वतन्त्र विभिन्न एकाइको अस्थिर सङ्घ मात्र हो । शरीरबाट त्यो ठम्याइन्छ, शरीरबाट त्यसको पृथक् अस्तित्वको बोध हुन्छ तर त्यस्तो कुनै माध्यम वा केन्द्र छैन; जसबाट त्यो यथार्थमा चिनियोस् ।”

वृत्तिपुञ्जका रूपमा रहेको मानिस एउटा कौतुहलमय प्राणी हो, उसको नयाँ सामथ्र्य, क्षमता वा व्यक्तित्व कुन बेला कसरी प्रकट हुन्छ, त्यो सहजै मूल्याङ्कन गर्न सकिन्न भन्ने विचार बीपी राख्नुहुन्छ । बीपीले मानिसका वृत्तिहरूको सरल ढङ्गमा विश्लेषण गर्नुभएको छ । उहाँको विचारमा मानिसमा मूलतः दुइटा वृत्ति रहने गरेका छन्; “मानिस जन्मिएदेखि नै दुई सहजवृत्ति (इन्स्टिङ्क्ट) लिएर आउँछ– एउटा सामाजिक वृत्ति, अर्को आत्मिक वृत्ति । एउटा वृत्तिले उसलाई समाजतिर तान्छ भने अर्कोले आफूपट्टि । एउटा मानिसले दुई आपसमा विरोधी रोल रोज्नुपरेको छ– समाजको सदस्य भएर समाजप्रति बफादारीको रोल र अर्को व्यक्ति भएर आफूप्रतिको बफादारीको रोल ।”

मानिसमा पशुत्व र देवत्व गुण रहनुको परिणतिबारे विश्लेषण गर्दै मानिस दुवै गुणबीचको अवस्थाबाट गुज्रिँदै अस्तित्वमा रहन्छ भन्ने बीपीको चिन्तन देखिन्छ । एकातिर मानिस सामाजिक प्राणी हो, ऊ समाज विमुख भएर बाँच्न सक्दैन । समाजको सदस्यको नाताले उसको सामाजिक जिम्मेवारी रहन्छ । अर्कातिर सामाजिक भूमिकामा मात्र रहेर पनि उसका निजी वा आत्मिक आकाङ्क्षाहरू, इच्छाहरू, पूरा हुन सक्दैनन् । त्यसैले उसले आफूपट्टि पनि फर्केर हेनुपर्ने हुन्छ । यसरी सामाजिक र आत्मिक वृत्ति मानिसका स्वाभाविक गुणहरू हुन् । यी वृत्तिबीच परस्पर मेल नभए पनि मानिसले यिनलाई स्वीकार्नै पर्छ । नत्र उसको अस्तित्व सामान्य मानवका रूपमा रहन सक्दैन भन्ने बीपीको आशय रहेको देखिन्छ । 

सामाजिक प्रवृत्ति मात्र भएर मानिसको विकास पनि सम्भव छैन । समूहमा बस्ने, खाने, हिँड्ने आदि कर्ममा मात्र अग्रसर भएर आत्मिक वृत्तिबाट अलग रहने हो भने मानिसको विकास हुँदैन । बीपी मौरी वा कमिलाको उदाहरण दिँदै अनन्तदेखिका ती जीव सामाजिक त छन् तर आत्मिक वृत्ति नहुनुको परिणति तिनको विकासको क्रम अवरुद्ध रहेको छ भन्ने चिन्तन गर्नुहुन्छ । आत्मिक वृत्ति शून्यताको परिणाम उद्विकासको अवरुद्धता हो । सामाजिक वृत्तिले मानिसलाई बन्धनमा राख्दछ तर बन्धनभित्र विकास सम्भव हुँदैन । नयाँ सम्भावनाहरूतर्फ मानिसलाई डो¥याउन आत्मिक वृत्तिको अनिवार्यता रहन्छ । मानिस आत्मिक वृत्तिको विकासशीलताकै कारण वर्तमानको अवस्थामा आइपुगेको भन्ने दार्शनिक चिन्तन बीपीले गर्नुभएको छ; “समाज नियम, बन्धनद्वारा, रुटिनद्वारा स्थिरता स्थापित गर्न खोज्छ, विकासको माग भने नयाँ नयाँ बाटोलाई पहिल्याउँदै जाने, नयाँ नयाँ सम्भावनाको सन्धान गर्ने । यस्तो प्रक्रिया नियम, बन्धन र स्थिरताको स्थापनाको वैरी हो ।”

नियम बन्धन एवं स्थिरताले मानिसको स्वाभाविक गतिशीलतालाई रोक्दछ । आत्मिक वृत्तिको विकास, विस्तार र गतिमयता नै मानव विकासको मूल वृत्तिगत आधारशीला हो भन्ने बीपीको आशय रहेको बुझ्न सकिन्छ । बीपीले आफ्नो राजनीतिक जीवन सामाजिक वृत्तिअन्तर्गत र साहित्यिक जीवन आत्मिक वृत्तिअन्तर्गत रहेको आत्मविश्लेषण पनि गर्नुभएको छ । 

बीपीमा स्वाध्ययनबाट प्राप्त ज्ञानको प्राचूर्य थियो । उहाँले समकालीन विश्व राजनीतिमा जति चासो राख्नुहुन्थ्यो, व्यापक रूपमा विश्व साहित्य र दर्शनका पनि अध्येता हुनुहुन्थ्यो । उहाँले जति अध्ययन गर्नुभयो, त्यसबाट प्राप्त ज्ञानलाई मन्थन गरेर, आतमसात् गरेर आफ्नै मौलिक शैलीको निर्माण गर्दै विभिन्न माध्यमद्वारा अभिव्यक्त पनि गर्नुभयो । सँगसँगै उहाँले आफ्नो सामाजिक र आत्मिक वृत्तिलाई झन्झन् परिष्करण पनि गर्दै जानुभयो । त्यही परिष्कृतिको उपलब्धिस्वरूप नै उहाँको राजनीतिक र साहित्यिक व्यक्तित्वको निर्माण भएको बुझ्न सकिन्छ । 

बीपीले मानिसको सामाजिक वा आत्मिक वृत्तिको विश्लेषण गरेर मानिसभित्रको मानिसलाई चिन्ने प्रयत्न गर्नुभएको छ भने राजनीतिक विचार र विश्लेषणका माध्यमबाट मानिसको स्वतन्त्रताको सशक्त पैरवी गर्नुभएको छ । यस्तै साहित्यका माध्यमबाट मानिसकै स्वतन्त्र सत्ताको मनोविश्लेषण पनि गर्नुभएको छ । यसरी बीपीको दार्शनिक चिन्तनको केन्द्रीय तìव भने ‘मानिस’ नै रहेको बुझ्न सकिन्छ । 

मानिसलाई बुझ्ने र खोज्ने क्रममा बीपीले उसको आध्यात्मिक वृत्तिको पनि चर्चा पर्याप्त गर्नुभएको देखिन्छ । उमेरको वाद्र्धक्यतामा उत्पन्न हुने शारीरिक र मानसिक शिथिलताका कारण अध्यात्मवृत्तिमा वृद्धि हुन्छ भन्ने परम्परागत धारणामा रहेको पाइन्छ । बीपी यस्तो सनातन हिन्दु दर्शनमा आधारित धारणाप्रति सहमत देखिनुहुन्छ; “मलाई लाग्छ कि आध्यात्मिक वृत्ति– आध्यात्मिक हिन्दु दर्शनको मैले बुझेको अर्थमा– वाद्र्धक्यको स्वाभाविक गुण हो ।” बीपी अनुभवको परिपक्वताले मानव जीवनको गतिमयता वा तीव्रतालाई अवरोध पु¥याउन भने सक्दैन भन्ने विचार राख्नुहुन्छ । कम उमेरमै पनि मानिसमा अनुभवले खारिएर मानसिक वा बौद्धिक गाम्भीर्यता आउन सक्छ । उमेरको प्रौढता वा वद्र्धक्यता नै अनुभवको प्राचुर्यको कारण हुन सक्दैन; जसले उसलाई आध्यात्मिक वृत्तिका लागि बढी प्रेरित गरोस् भन्ने कुरामा भने बीपी सहमत देखिनु हुन्न । अनुभवको आधिक्यले मात्र आध्यात्मिक वृत्तिलाई आकर्षित गर्न सक्दैन भन्ने बीपीको आशय रहेको बुझिन्छ । 

सामान्यतः मानिसको चैतन्यशीलता, विचारशीलता एवं कर्मशीलताद्वारा उसको जीवनको गतिमयतालाई मापन गर्न सकिन्छ । त्यसका निम्ति मानिसको मनस्थितिको निर्माता नै उसको ‘वृत्ति’ भएको कुरा बीपीको चिन्तनबाट ज्ञात हुन्छ । 

बीपीले मानववृत्तिहरूबारे बृहत् रूपमा चर्चा नगर्नुभए पनि प्राप्त दार्शनिक विचारहरूका आधारमा उहाँको चिन्तनमा निहित गम्भीरतालाई बुझ्न सकिन्छ । मानिसलाई चिन्ने वा बुझ्ने क्रममा बीपीले गर्नुभएका दार्शनिक चिन्तनहरू उहाँका अन्तर्वार्ता, मन्तव्य वा जेल जीवनका दिनपञ्जीहरूमा पनि यत्रतत्र छरिएका पाइन्छन् । तिनको मिहिन अध्ययन हुन सकेमा मात्र उहाँको समग्र व्यक्तित्वका पत्रहरूलाई बुझ्न सकिनेछ । दुर्भाग्यको कुरा बीपी विचारको दार्शनिक धरातलमा केन्द्रित रहेर उहाँसँग न कसैद्वारा बृहत् अन्तर्वार्ता नै लिइयो न उहाँले नै त्यससम्बन्धी यथेष्ट चिन्तनमूलक अभिलेखन गर्ने अवसर नै प्राप्त गर्नुभयो । यस्तो हुँदाहुँदै पनि उपलब्ध अन्तर्वार्ता, फुटकर लेख वा दिनपञ्जीहरूको अंशहरूमा अन्तर्निहित चिन्तनबाट बीपीको दार्शनिक व्यक्तित्व भने यथेष्ट नै प्रकाशित हुन पुगेको भने अनुभव हुन्छ । बीपीसम्बन्धी अध्ययनको यो अर्को छुट्टै आयाम हो भन्न सकिन्छ ।