• ११ असोज २०८१, शुक्रबार

चर्चामा मोरङको चार नम्बर क्षेत्र

blog

धीरज दाहाल

विराटनगर, भदौ २५ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवार सिफारिस गरिरहेका छन्। सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस मोरङले पनि जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार प्रदेश समिति समक्ष सिफारिस गरिसकेको छ। योबीचमा जिल्लाका अन्य क्षेत्रभन्दा क्षेत्र नम्बर ४ को चर्चा चुलिएको छ। 

जिल्लाका ६ वटा क्षेत्रमध्ये क्षेत्र नं. ४ बाट सबैभन्दा धेरै आकाङ्क्षी देखिएका छन्। केन्द्र तथा जिल्लामा प्रभाव राख्ने पाँच जना नेताको नाम एउटै क्षेत्रबाट सिफारिस भएपछि कांग्रेस वृत्तमा क्षेत्रको चर्चा चुलिएको हो। केन्द्रीय सदस्य अमृत अर्याल, पूर्वमहानगरप्रमुख भीम पराजुली, बौद्विक नेताको छवि बनाउनुभएका महेश आचार्य, नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष गुरुराज घिमिरे र पूर्वराज्यमन्त्री दीलिप गच्छदारले एकसाथ यही क्षेत्रको दाबी गरेपछि राजनीति रोमाञ्चक मोडमा पुगेको हो। 

नेपाली कांग्रेसबाट पटक–पटक अवसर पाउँदै आउनुभएका महेश आचार्यले सो क्षेत्रबाट राजनीति गर्दै पार्टी तथा सरकारमा सहभागिता जनाइसक्नुभएको छ। सत्ता साझेदार दलको गठबन्धन र भागबन्डामा टुङ्गो नलागिसकेको अवस्थामा अन्य दलको भागमा यो क्षेत्र पर्छ कि पर्दैन भन्ने निश्चित छैन तर कांग्रेसका लागि बलियो मानिने यो क्षेत्रमा नेताहरूको आर्कषण रहेको छ। 

अघिल्लो निर्वाचनमा माओवादी उम्मेदवार अमनलाल मोदीले चुनाव जिते पनि कांग्रेसले यस पटक सो क्षेत्र नछाड्ने जनाएको छ। अर्कोतर्फ सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलमा पनि मोरङ ४ कांग्रेसले नै लिने सहमति जुटेको चर्चासमेत चलेको छ। 

२०७० सालको संविधान सभा निर्वाचनमा एमाले नेता गुरु बराललाई पराजित गर्न सफल दीलिप गच्छदार पनि टिकट लिने दौडमा रहनुभएको छ। क्षेत्र नं. ४ थारू बाहुल्य क्षेत्र भएकोले गच्छदारको सम्भावना रहेकोसमेत बताइन्छ। बेलबारी नगरपालिकाको ५, ६ र ७, ग्रामथान र कटहरी गाउँपालिका र विराटनगर महानगरपालिकाको १, २, ३, ८, १० र १९ नम्बर वडा रहेको छ।