• १३ साउन २०८१, आइतबार

रुकुम पूर्व अझै सञ्चार सम्पर्कविहीन

blog

नेटवर्क विहीन रहेको पुथाउत्तरगङ्गा–११ माथिल्लो सेरा गाउँ । तस्बिरः जयमान बुढा मगर

रुकुम पूर्व, भदौ २४ गते । घर गाउँमा सञ्चारको सुविधा कहिले आउँछ ? घरदेखि टाढा रहेका आफन्त तथा अरू इष्टमित्रसँग खबर आदानप्रदान गरी कहिले धित पुग्ने गरी फोनमा कुरा गर्न पाइएला ? कहिले भरपर्दो टावर बन्ला र हाम्रो समस्या टर्ला ? सम्बन्धित निकाय र सरकारसँग कुरा राख्दा पनि ध्यान दिँदैनन् । यस्तै दुःख पोख्दै सुनाउनु हुन्छ भूमे गाउँपालिका–७ धर्मशालाका प्रकाश रोका मगर । कुनै कामकाजका खबर पुराउनका लागि घण्टौँ हिँडेर खबर पुर्याउने बाध्यता छ । कुनै खबर त समयमै नपाएर सूचनाबाट वञ्चित भइरहेका छन् ।

“आफ्ना परिवारको सदस्य घर बाहिर भएका बेला उसको केही पनि खबर थाहा हुँदैन, फोन गर्न कुनै डाँडामा जानुपर्छ तर पनि स्पष्ट कुरा बुझिँदैन”– रोकाले भन्नुभयो । अहिले सबैको हात हातमा मोबाइल छ तर गाउँमा टेलिफोन सेवा नभएको रोकाले बताउनुभयो । जसका कारण फोन सेवा पाउन नसकेको स्थानीयको गुनासो छ ।

१४ वटा वडा रहेको पुथाउत्तरगङ्गा गाउँपालिकाको वडा नम्बर २ र ११ पूर्ण रूपले कुनै पनि नेटवर्कले काम गर्दैन । १, ३, ५, ९, १०, १३ र १४ नम्बर वडाका केही केही ठाउँमा नेपाल टेलिकमको फोन सेवाले काम गर्ने गरेको गाउँपालिकाले जनाएको छ । बाँकी वडामा नेपाल टेलिकमको फोन सेवा भए पनि भरपर्दो सेवा छैन ।

यसै गरी ८ वटा वडा रहेको सिस्ने गाउँपालिकाको २ को छिप खोला र ६ को खोपी चार बस्तीमा कुनै पनि नेटवर्कले काम गर्दैन । ९ वटा वडा रहेको भूमे गाउँपालिकाको वडा नम्बर १, ३, ७ र ८ का अधिकांश बस्तीमा फोन सेवाबाट वञ्चित छन् । 

फोनको पहुँचमा रहेको वडा, गाउँपालिकाको केन्द्र र सदरमुकाम रहेको रुकुमकोटका सबै ठाउँमा समेत नेटवर्कले काम नगरी राखेको अवस्था रहेको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बताउनुभयो । टेलिफोन सेवालाई थप प्रभावकारी बनाउनका लागि बारम्बार सम्बन्धित निकायसँग छलफल भइहरेको प्रजिअ सुनुवारले जानकारी दिनुभयो । 
हाल नेटवर्कविहीन रहेका वडामा फोन सेवाको पहुँचमा पुराउनका लागि नेपाल टेलिकमका टावर पाँच ठाउँमा निर्माण भइरहेको उहाँले बताउनुभयो । पुथाउत्तरगङ्गा–२, १०, भूमे–६, सिस्ने–४ र ६ मा नेपाल टेलिकमको टावर निर्माण भइरहेको छ । पुथाउत्तरगङ्गा–१० बाहेक अन्य ठाउँको टावर निर्माण कार्य अन्तिम चरणमा रहेको प्रजिअ सुनुवारले जानकारी दिनुभयो । पुथाउत्तरङ्गा–२, भूमे–६, सिस्ने–४ र ६ गरी चार ठाउँको टावर आउँदो दसैँ सम्ममा टावर सञ्चालनमा ल्याउनका लागि ठेकेदार कम्पनीलाई ताकेता गरिराखेको प्रजिअ सुनुवारले बताउनुभयो । 
ठेकेदारको ढिलाइ, सुस्तीका कारणले लामो समय देखि अन्तिम चरणमा पुगेका टावर अहिले सम्म सञ्चालनमा आउन नसकेको नेपाल दुरसञ्चार कार्यालय रुकुमपूर्वका प्रमुख चन्दनकुमार यादवले जानकारी दिनुभयो । 
Author

जयमान बुढा मगर