राजन रावत
हुम्ला, भदौ २३ गते । चीनसँगको सिमाना रहेको नाम्खा गाउँपालिका –६ को हिमालपारीको गाउँ लिमीका दुई सामुदायिक विद्यालयमा तिब्बतीयन भाषा अध्ययन गराइँदै आएको छ । स्थानीयलाई उक्त भाषाको आवश्यकता भएपछि निजी स्रोतमा शिक्षकको व्यवस्था गरी पढाउने व्यवस्था गरिएको हो ।
लिमी हल्जी गाउँका स्थानीय कुन्जोक तामाङले केही वर्ष यता लिमीका दुई विद्यालय हल्जी गाउँका सुनखानी र जाङ गाउँको हिमशिखर आधारभूत विद्यालयमा तिब्बेतीयन भाषा पठनपाठन गराइँदै आएको बताउनुभयो । लिमीका स्थानीयका लागि पूजापाठ गर्दा, गीत गाउँदा र चीनको ताक्लाकोटमा व्यापार व्यवसाय गर्दा सो भाषा आवश्यक पर्ने देखिएपछि गाउँवासीको साझा निर्णयअनुसार विद्यालयमा पढाइ गरिएको बताउनुभयो ।
लिमीका स्थानीयको लागि तिब्बेतीयन भाषा धेरै हदसम्म आवश्यक पर्नेगर्छ । यो कुरालाई मनन गर्दै लिमीवासीले अन्य कसैसँग सल्लाह नगरी सो भाषा पढाउन सुरु गरिएको बताउनुभएको छ । कोरोना कहरपछि चीनले आफ्नो नाका बन्द गरेका कारण लिमीवासीलाई धेरै सेवा राज्यबाट उपलब्ध हुनेगरेको छ ।
गाउँपालिकाका अध्यक्ष प्रेम लामाले हाल लिमीका विद्यालयमा पढाइ भइरहेको तिब्बेतीयन भाषालाई यस वर्ष गाउँपालिकाले स्थानीय भाषाको पाठ्यक्रम निर्माण गरेर त्यसलाई मान्यता दिने तयारी भइरहेको बताउनुभयो । हालसम्म लिमीवासीले सो भाषालाई आफ्नै किसिमले विद्यालयमा पठनपाठन गरिरहेकोमा अब सरकारी स्तरबाटै सम्बोधन गरिने बताउनुभयो ।