सन्तोष सुवेदी
कास्की, जेठ २८ गते । कला संस्कृतिको धनी पोखरा । त्यसमा पनि जनजाति समुदायको उल्लेख्य बसोबास भएको सहर । यहाँ समय समयमा जनजाति अनुहार एक्सन, कटको सेटमा भेटिन्छन् । यहाँ आदिवासी संस्कृति, कला, भाषा, संस्कार, गीत/सङ्गीतमा आधारित चलचित्र निर्माण हुने क्रम बढ्दो छ । महिनौँ जसो हलमा गुरुङ चलचित्रको च्यारिटो सो भइरहन्छन् । यसबाट पोखरालाई गुरुङ चलचित्रको उर्वरभूमि मानिन्छ । सुरुवातदेखि २७ वर्षसम्मको अवधिमा गुरुङ भाषाका चलचित्र थुप्रै बने र बन्ने क्रमले निरन्तर पाइरहेको छ ।
विसं २०५२ मा गुरुङ समुदायका युवाले काठमाडौँमा रोधी परिवार नामक संस्था स्थापना गरेसँगै गुरुङ चलचित्र निर्माणको जग बसेको हो । नाचगानमा केन्द्रित उक्त संस्था विस्तारै चलचित्रतर्फ मोडियो । संस्थामै आबद्ध केही युवा चलचित्र निर्माणमा जुटे । त्यसमा हुनुहुन्थ्यो, पहिलो गुरुङ चलचित्रका नायक प्रितम गुरुङ । लगानीको अभाव भएपछि बुवाआमासँग पैसा मागेर चलचित्र ‘पाते’ (माइली) बनाउन सुरु गरेको उहाँ स्मरण गर्नुहुन्छ । गुरुङ भाषा, संस्कृति अनुसन्धानमा सिङ्गापुरबाट नेपाल आउनुभएकी अनुसन्धानकर्ता मेलिस्सा लिईबाट चलचित्रको शुभमुहूर्त गरिएको थियो ।
यसअघि मगर भाषाको पहिलो चलचित्र ‘लङ्गान’ निर्माण भइसकेको थियो । सोही चलचित्रका निर्देशक युवराज मास्कीमगरले पातेको पनि निर्देशन गर्नुभयो । नायक तथा निर्मातासमेत रहनुभएका प्रितम भन्नुहुन्छ, “चलचित्रमा पाँच लाखको लगानी थियो । लगानी व्यक्तिगत रूपमा गरियो तर तत्काल पैसा उठेन ।” चलचित्र प्रदर्शन भएको झन्डै तीन वर्षपछि लगानी उठ्यो, उहाँले स्मरण गर्दै भन्नुभयो, “त्यो समयमा च्यारिटी सो भन्ने नै हुने थिएन । पालमा बसेर क्यासेट बेच्नेलगायतका उपाय गरिन्थ्यो ।” २०५२ वैशाख २३ गतेबाट छायाङ्कन सुरु गरिएको फिल्म तनहुँको कन्दनी र काठमाडौँ गरी २६ दिनमा छायाङ्कन सकिएको थियो । पाते गुरुङ र नेपाली दुवै भाषामा डबिङ गरिएको थियो । जसले गर्दा गैरगुरुङलाई पनि चलचित्र हेर्न सहज भएको उहाँले सुनाउनुभयो । प्रितमले २०७२ सालमा पाते–२ पनि बनाउनुभयो ।
पूर्ण रूपमा गुरुङ भाषामा निर्माण भएको चलचित्र ‘न्ह्याम्स्यो न्होरी’ (कुहिरोभित्र) हो । मीनबहादुर गुरुङको निर्देशनमा बनेको चलचित्रलाई लोकबहादुर गुरुङले लेख्नुभएको हो । नृत्य निर्देशनमा बढी चिनिने गोरे गुरुङले ‘विदेशको माटो स्वदेशको पीडा’ बनाउनुभयो । उहाँ यसमा नायकका रूपमा देखिनुभयो । उहाँले नै प्ह«ेछे, वाचाबन्धन, हेर्ने ट बनाउनुभयो । यसरी एकादुई चलचित्र बन्न थालेपछि भाषाभाषिका चलचित्र महìवका साथ हेरिन थालियो । लोकबहादुर गुरुङ, वेदबहादुर गुरुङ ‘श्याम’ मिलेर ‘ङयोए नासा ट्हो, हेर्वेट चों, प्ह«ेस्यो, धीं’ नामका गुरुङ चलचित्र बनाउनुभयो । आफ्नो भाषा संस्कृतिलाई देश विदेशसम्म फैलाउने उद्देश्यले वार्षिक रूपमा थुप्रै चलचित्र बन्न थाले । वर्षमा झन्डै १५ जति गुरुङ भाषा, संस्कार संस्कृतिमा आधारित चलचित्र नेपालभर बन्ने गर्छन् ।
आदिवासी चलचित्रमा सबभन्दा बढी गुरुङ भाषाकै चलचित्र बनेको पाइन्छ । झन्डै २७ वर्षको अवधिमा गुरुङ चलचित्रले उल्लेख्य विकास गरेको पनि छ । हालसम्म दुई सयभन्दा बढी हाराहारीमा गुरुङ चलचित्र निर्माण भएका छन् भने केही निर्माणाधीन अवस्थामा पनि छन् । ती चलचित्रको निर्माण गर्ने व्यक्ति र छायाङ्कनसमेत बढी मात्रामा गण्डकी प्रदेशमा हुने गरेको पाइन्छ । गुरुङ चलचित्र र त्यससँग सम्बन्धित चलचित्रकर्मीलाई सहज होस् भनेर २०६५ सालमा गुरुङ फिल्म एसोसिएसन (जिफान) स्थापना गरिएको थियो । यसले गुरुङ चलचित्रको मात्र नभएर कला, संस्कृतिलाई समेत पर्दामा पस्कने काम गरेको छ । गुरुङ समुदायको कला, रीतिरिवाजलाई नयाँ पुस्तामाझ जानकार दिइएको गुरुङ फिल्म एसोसिएसनका संस्थापक अध्यक्ष माओत्से गुरुङ बताउनुहुन्छ ।
पोखरामा यी चलचित्रले च्यारिटी सो गरी लगानी उठाउने गरेको पाइन्छ । एकादुई चलचित्र हलमा क्यु सिस्टम अनुसार प्रदर्शन पनि भएका छन् । गुरुङ चलचित्रको क्षेत्र फराकिलो मात्र नभएर गुणस्तरीय पनि भएको छ । सुरुवातको समयमा एचएस नौ हजार क्यामराबाट खिचेर बजारमा आउने गथ्र्यो । त्यसबेला सम्पादनदेखि डबिङ अत्यन्त झन्झटिलो हुने संस्थापक अध्यक्ष माओत्से गुरुङ बताउनुहुन्छ । “हिजोको गुरुङ चलचित्र र अहिले धेरै फरक छ,” उहाँले भन्नुभयो । अहिले डिएसएलआर, जिएचफो, सेभेनडी क्यामराबाट डिजिटल रूपमा काम हुने गरेको उहाँको भनाइ छ ।