• १३ साउन २०८१, आइतबार

भेरी अस्पतालमा बिरामीको चाप बढ्यो

blog

भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि आएका विरामीहरु । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, भदौं २३ गते । भेरी अस्पताल नेपालगन्जमा आपतकालीन कक्षमा १६ शैया रहेकोमा बुधबार रातिदेखि बिहीबार मध्यान्हसम्म २५ शैयामा बिरामी भरिएका छन् । १५० शैया रहेको अस्पतालमा सोभन्दा बढी बिरामी उपचाररत रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईँले जानकारी दिनुभयो । 

शैया अभाव भएपछि बुधबार बिरामीलाई आपतकालीन कक्षभित्र बेन्च तथा बाहिरको पीपल चौतारीमा राखेर उपचार गरिएको छ । पछिल्लो समय कोभिड वार्डका लागि छुट्टाइएको वार्डमा समेत बिरामी राखेर उपचार भइरहेको छ । दम, सर्पदंश र स्क्रब टाइफसका बिरामी अस्पतालमा आउने क्रम बढेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चापागाईँले भन्नुभयो, “पछिल्लो दिनमा डेङ्गुका बिरामी समेत धेरै देखिन थालेका छन् ।”

भेरी अस्पतालमा उपचारका लागि आएकामध्ये हालसम्म १२ जनामा डेङ्गु देखिएको छ । बुधबार यहाँ अस्पतालमा दुई जना डेङ्गु बिरामीको निधन भएको छ । निजी अस्पतालले सरकारले सञ्चालन गरिरहेको स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि भेरीमा बिरामीको चाप बढेको छ । अस्पतालमा बीमासँगै सामान्य बिरामीको सङ्ख्या  दिन प्रतिदिन बढ्न थालेको चिकित्सकको भनाइ छ । 

भेरी अस्पतालप्रति आम नागरिकको विश्वास बढ्दै गएका कारण पनि उपचारका लागि आउने बिरामीको सङ्ख्या बढिरहेको अस्पतालले जनाएको छ । बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि आपतकालीन कक्ष बाहिर अस्थायी संरचना निर्माण गरेर पनि बिरामीलाई उपचार सेवा दिने तयारी भइरहेको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताउनुभयो । 

भेरी अस्पतालले मेडिसिन, सर्जरी, प्रसूति, बाल उपचार, नाक, कान, घाँटी, छाला, हड्डी, दाँत, मानसिक, न्युरो लगायतका उपचार सेवा प्रदान गर्दै आएको छ । भेरीमा पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा भारतबाट समेत बिरामीहरू उपचारका लागि आउने गरेका छन् ।