• ९ मंसिर २०८१, आइतबार

चीनको प्रतिस्पर्धामा नेपाली चिया

blog

सुरेशकुमार यादव

काठमाडौँ भदौ २३ गते । नेपालले आफ्नो चिया टेस्टिङ (स्वाद जाँच)का लागि चीनमा नमुना पठाउने भएको छ । नेपालमा उत्पादित चिया चीन निर्यात हुने भएपछि स्वाद जाँचका लागि त्यता पठाउन लागेको हो । 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईका अनुसार सेप्टेम्बर १८–२१ सम्म चीनको बेजिङमा हुने चिया प्रतिस्पर्धा (टी कम्पिटिसन)मा भाग लिने र नेपालको चियालाई प्रतिस्पर्धा गराउनका लागि विभिन्न १६ वटा चियाका नमुना पठाउन लागिएको हो । 

“नेपाली चियाका १६ वटा नमुना भोलि (बिहीबार) पठाउन लागेका छौँ, नमुना तयार पारिसकिएको छ,” उहाँले भन्नुभयो । चीनमा यस्तो प्रतिस्पर्धा बर्सेनि हुने गरेको छ । नेपालले भने पहिलो पटक भाग लिने भएको हो । 

चीनले नेपाली चिया लिने सहमति जनाएपछि मात्र प्रतिस्पर्धामा भाग लिने कुरा तय भएको हो । प्रतिस्पर्धामा नेपालको चियाले आफ्नो पहिचान स्थापित गरेपछि चीन निर्यात गर्न झन् सजिलो हुने उहाँले बताउनुभयो । 

यो प्रतिस्पर्धामा भाग लिएपछि दुई देशका व्यापारीबीच छलफल गराउने कार्यक्रम पनि तय भएको छ तर छलफलको मिति भने तय भएको छैन । व्यापारीसँग छलफल गरिसकेपछि चीनमा नेपाली चिया प्रदर्शनी गर्ने तयारी बोर्डको छ ।  

बोर्डका प्रवक्ता एवं निर्देशक डा. दीपक खनालले नेपालको चिया चीन पठाउने प्रक्रिया तीव्र रूपमा अगाडि बढेको बताउनुभयो । बोर्ड तथा नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिबीच यस विषयमा नियमित छलफल भइरहेको छ । “दुई देशबीच नीतिगत सहमति भए पनि व्यावसायिक रूपमा कुरा मिलाउन अझै बाँकी छ । नेपाली चिया खरिद गर्न चीन र बेच्न नेपालका व्यापारी पनि तयार हुनुपर्छ । त्यो तहमा कुरा हुन बाँकी छ,” डा. खनालले भन्नुभयो ।

चिनियाँ व्यापारीबीच नेपालको चिया परिचित गराउन प्रतिस्पर्धामा भाग लिन लागेको उहाँले बताउनुभयो । प्रतिस्पर्धामा सहभागी भएपछि धेरै कुरा स्पष्ट हुने बोर्डको ठम्याइ छ । दुई देशबीच अब नीतिगत कुरामा समस्या नरहेको र व्यावसायिक रूपमा केही कुरा टुङ्गो लगाउन दुई देशको कार्यदल बनाउनेबारे छलफल भइरहेको प्रवक्ता खनालले बताउनुभयो । 

“यी सबै काम द्रुतगतिमा अगाडि बढाउन कार्यदल वा एउटा समिति बनाउने कुराकानी भइरहेको छ, त्यस्तो समिति वा कार्यदल दुवै देशले बनाउनुपर्छ । त्यसले चिया निर्यातका लागि कानुनी प्रावधानदेखि लिएर अन्य कुराहरू टुङ्गो लगाउँनेछ,” उहाँले स्पष्ट पार्नुभयो । 

साउनको अन्तिम हप्ता परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नुभएको चीन भ्रमणका क्रममा समकक्षीसँग नेपालको चियाबारे आयात–निर्यातबारे सहमति भएको थियो । उक्त भ्रमणपछि काठमाडौँमा नेपाली र चिनियाँ दूतावासका अधिकारीबीच पटक–पटक छलफल भएर यसबारे धेरै पक्षमा सहमति भइसकेको छ । 

भारतीय संसद्मा नेपाली चियाको गुणस्तरमाथि प्रश्न उठाएपछि नेपालले चिया बजारको विकल्प खोज्न लागेको हो । 

उत्पादन र आयात–निर्यात  

चिया नेपालको एउटा मुख्य निर्यात वस्तु हो । आव २०७६/७७ मा दुई अर्ब ७८ करोड रुपियाँ बराबरको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएकोमा थियो । आव २०७७/७८ मा तीन अर्ब छ करोड रुपियाँभन्दा बढीको नौ हजार ५७० मट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । 

यसैगरी २०७८/७९ मा तीन अर्ब ४३ करोड रुपियाँ बराबरको १२ हजार मेट्रिक टन चिया निर्यात भएको थियो । सोही आर्थिक वर्षमा आठ करोड ३६ लाख रुपियाँको २० मेट्रिक टन चिया आयात भएको थियो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१९–२०२० मा दुई करोड ४१ लाख १८ हजार किलोग्राम चिया उत्पादन भएको छ । जसमा एक करोड ४९ लाख ७७ हजार किलोग्राम सीटीसी चिया उत्पादन भयो भने ८२ लाख ५१ हजार किलोग्राम अर्थोडक्स चिया उत्पादन भएको छ । सो अवधिमा नेपालमा सात लाख ४५ हजार किलोग्राम ग्रीन टी उत्पादन भएको छ ।