निजामती सेवा सरकार र जनताबीचको असल र स्थायी सम्बन्ध सेतु हो। किनकी राज्य र जनताबीचको सम्बन्धको अभिव्यक्ति हुने प्रमुख माध्यम सार्वजनिक सेवा हो। त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व हो। यो दायित्व निर्वाहमा निजामती प्रशासनको भूमिका सदासर्वदा महत्व रहेको हुन्छ। राज्यको यसै विशिष्ट दायित्वको आधारमा राज्य र जनताको सम्बन्ध स्थापित भएको हुन्छ। यसै सम्बन्धको कारणले राज्यको पहिलो दायित्व सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धि गर्ने रहेको हुन्छ।
सरकारको भूमिका मूलतः लोक कल्याणकारी राज्यको सिद्धान्तमा आधारित हुने भएकोले सेवा प्रवाहका उपरोक्त आधारशीला अनुरूपको सेवा प्रवाहको संयन्त्रको आवश्यकता पर्ने गर्दछ। यस्तो संयन्त्र सकारात्मक, सिर्जनशील, व्यावसायिक, परिणाममुखी र जनमैत्री हुनु आवश्यक छ। सेवा प्रवाहको यस आयाममा निजामती सेवा सक्षम हुनुपर्छ। सेवा प्रवाहमा पालना गर्नुपर्ने प्रक्रिया पारदर्शी, तटस्थ र प्रतिबद्धताजस्ता स्वच्छताका गुणहरूले युक्त हुनु आवश्यक हुन्छ।
सेवा प्रवाहको प्रभावकारिताको स्तरले सरकारको लोकप्रियताको स्तर निर्धारण गर्ने गर्दछ। सार्वजनिक सेवा प्रवाहमा दक्षता र प्रभावकारिताको स्तरले सुशासनको सही अवस्थाको चित्रण गरेको हुन्छ। सुशासनले समृद्धिको यात्रालाई सहज बनाइदिन्छ। सेवा प्रवाहको प्रभावकारिताबाट शासन प्रणाली प्रति अपनत्व सिर्जना गर्न र सुशासनको प्रत्याभूति गर्न निजामती प्रशासनको भूमिका महìवपूर्ण रहने गर्दछ।
नेपालको प्रजातान्त्रिक आन्दोलनको छ दशकभन्दा लामो सङ्घर्षपश्चात् देशले उच्चतम प्रजातान्त्रिक सङ्घीय लोकतान्त्रिक सङ्घीय शासन प्रणाली अवलम्बन गर्न पुगेको छ। परिवर्तित शासकीय व्यवस्थाअनुसार, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको बहुसरकारको अवधारणा अनुरूप हुने र राज्य शक्तिको प्रयोग सङ्घ, प्रदेश र स्थानीय तहबाट हुने व्यवस्था भएको छ। सङ्घीय संरचनामा प्रभावकारी सेवा प्रवाहका लागि सक्षम निजामती प्रशासन हुनु आवश्यक हुन्छ।
निजामती प्रशासन विज्ञ, व्यावसायिक, क्षमतावान् व्यक्तिहरूको समूह तथा राज्यको स्थायी संयन्त्र हो। यसै कारणले सरकारी नीति निर्माण कार्यान्वयनमा प्रशासनिक संयन्त्रको महìवपूर्ण भूमिका रहेको हुन्छ। प्रशासकीय सक्रियताको सन्दर्भलाई पनि यसै परिवर्तनमा हेर्न सकिन्छ।
प्रशासन सरकार र सेवाग्राही बीचको सम्बन्ध सेतु हो। यसर्थ, प्रशासनिक संयन्त्र जति प्रभावकारी हुन्छ त्यत्ति नै सरकार त जनताबीचको सम्बन्ध असल हुने गर्दछ र यही असल सम्बन्धले नै सरकारको दिगोपनाको सुनिश्चितता गर्ने गर्दछ। यसै कारणले नै कुनै पनि देशको सरकारको प्रभावकारितामा त्यहाँको प्रशासन यन्त्रको मुख्य भूमिका हुने गर्दछ।
निष्पक्षता, तटस्थता, तत्परता, सिर्जनशीलता, सकारात्मकता, सदाचारिता, पारदर्शिता सार्वजनिक प्रशासनका मूलभूत न्यूनतम विशेषता हुन्। यी विशेषताको सक्षम उपस्थितिले नै सक्षम प्रशासनको कल्पना गर्न सकिन्छ र यी विशेषताहरूको क्षयीकरण वा कमजोर उपस्थितिले प्रशासन जनमैत्री बन्न नसक्ने मात्र होइन कि समग्र शासकीय परिपाटी नै आलोचनाको केन्द्र बन्न पुग्दछ। शासन प्रणालीलाई आलोचनाबाट मुक्त बनाइ भरोसा र विश्वासयोग्य बनाउन सबै सरोकारवालाको समान भूमिका हुन्छ। यसमा मुख्यकर्ताको रूपमा निजामती प्रशासनको भूमिका महत्वपूर्ण रहन्छ। विश्वव्यापीकरण, शिक्षा, सूचना र प्रविधिको तीव्र विकासले जनआकाङ्क्षाको तह पनि उच्च रूपमा बढेको छ। यस सन्दर्भमा सङ्घीय शासन प्रणालीमा निजामती प्रशासनको कार्यक्षमता, प्रभावकारिता र सबल उपस्थिति अनिवार्य सर्त हो।
प्रशासन यन्त्रको सकारात्मक सक्रियताले एकातर्फ सरकारले आफूले परिकल्पना गरेको दीर्घकालीन सोचलाई नीतिनियम र प्रक्रियामा आबद्ध गराएर जनताले अनुभूति गर्ने गरी कार्यान्वयन गर्न सक्छ भने कार्यान्वयनको क्रममा जनअपेक्षाको सम्बोधन भयो भएन र त्यसमा के कस्ता सुधारको आवश्यकता छ भन्ने कुराको पृष्ठपोषण प्राप्त भई त्यसलाई आगामी दिनको कार्ययोजनामा परिमार्जन वा समाहित गर्न सकिन्छ। यसर्थ सकारात्मकता सहितको निष्पक्ष र सक्रिय प्रशासनिक संयन्त्र असल शासकीय प्रणालीको संवाहक हो। परिवर्तित शासकीय परिवेशमा सिर्जनशील र सदाचारयुक्त निजामती प्रशासनले सङ्घीय शासन प्रणालीलाई जनमैत्री बनाउन सक्दछ। प्रशासन सरकारको दर्पण हो। कुनै पनि सरकार त्यहाँको प्रशासनयन्त्र भन्दा राम्रो हुन सक्दैन भन्ने सन्दर्भमा सङ्घ, प्रदेश र स्थानीय तहमा रहेका निजामती प्रशासकहरूको भूमिका अझै थप प्रभावकारी र जनमैत्री हुनु आवश्यक हुन्छ। नेपालको निजामती प्रशासन आगामी दिनमा यी आयाममा थप प्रखर र प्रभावकारी बन्दै जानुपर्ने आवश्यकता छ।
लेखक नेपाल सरकारका सचिव हुनुहुन्छ।