• १३ साउन २०८१, आइतबार

प्रदेश सरकारका योजना अलपत्र

blog

नवराज श्रेष्ठ

रामेछाप, भदौ २१ गते । रामेछाप जिल्लामा बागमती प्रदेश सरकारको लगानी रहेका अधिकांश योजना अलपत्र अवस्थामा रहेका छन् । निर्माण कम्पनीले सम्झौताअनुसार तोकिएको समयमा अस्पताल, कभर्ड हल र चिस्यान केन्द्र निर्माण सम्पन्न नगर्दा सञ्चालनमा आउन सकेको छैन ।

सदरमुकाम मन्थलीमा निर्माणाधीन १५ शøयाका अस्पताल निर्माणको काम लामो समयदेखि रोकिएको छ । अस्पताल निर्माणको काम अलपत्र अवस्थामा छाडरे ठेकेदार भागेपछि गत मङ्सिरदेखि काम गर्ने मजदुर बिचल्लीमा परेका छन् । अस्पताल निर्माणको काम गत असारबाट पूर्ण रूपमा बन्द अवस्था छ । मन्थलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शøयाका अस्पतालमा स्तरोन्नति गरी आगामी मङ्सिर ३० गते निर्माण सम्पन्न गर्ने गरी गत वर्ष भदौ १० गते शिलान्यास गरिएको थियो । 

निर्माणको जिम्मा लिएको श्री गाल्वा/लालशुभ मेन्द्रो जेभी काठमाडौँले २० प्रतिशत पनि काम नसकी अलपत्र छाडिदिएको छ । अस्पताल निर्माणको काम अलपत्र छाडेर गत मङ्सिर महिनादेखि काम गरेको ज्यालासमेत नदिई ठेकेदार भागेपछि मजदुर अलपत्र परेको स्थानीय व्यवसायी प्रदीप श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अस्पताल निर्माणको क्रममा मजदुर तथा निर्माण व्यवसायीहरूले खाएको, बसेको पैसा नपाउँदा आसपासका होटल तथा खाद्यान्न पसलसमेत समस्यामा परेका छन् । 

यस्तै मन्थली नगरपालिका–२, भुत्याहाखोला किनारमा २०७६ साल भदौ महिना शिलान्यास भएको कभर्ड हलको काम अझै सकिएको छैन । प्रदेश सरकारको लगानीमा निर्माण सुरु भएको यो कभर्ड हलको १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सुनकोसी–गिरी जेभी काठमाडौँले २०७७ असार २१ गतेबाट काम सुरु गरेको थियो । छ करोड ५७ लाख ९२ हजार ८८० रुपियाँ ५३ पैसामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको होे । अत्याधुनिक कभर्ड हलमा बास्केटबल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिसलगायतका खेल सञ्चालन गर्न सकिने र करिब एक हजार दुई सय दर्शक क्षमताको रहेको जनाइएको छ । कभर्ड हलको २०७६ भदौ १७ गते बागमती प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले निकै तामझामका साथ शिलान्यास गर्नुभएको थियो । 

यसैगरी मन्थली नगरपालिका–१, सानीमदौमा निर्माण भएको तरकारी तथा फलफूल चिस्यान केन्द्र अलपत्र परेको छ । प्रदेश सरकारको पाँच करोड र मन्थली नगरपालिकाको दुई करोड १० लाख रुपियाँको साझेदारीमा चिस्यान केन्द्र निर्माण भएको हो । गत आर्थिक वर्ष २०७८÷७९ बाटै सञ्चालन हुनुपर्ने यो चिस्यान केन्द्र सञ्चालनमा आउन नसक्दा जिल्लामा उत्पादित जुनारलगायतका अमिलो जातका फलफूल, किवी, आलु, विभिन्न जातका तरकारी उत्पादन गर्ने किसान समस्यामा परेका छन् । 

चिस्यान केन्द्रको व्यवस्थापनका लागि सामान्य घेराबारसमेत नहुँदा अहिले सवारी पार्किङ र कुकुरलगायतका पशुचौपाया बस्ने थलो बनेको स्थानीय पूर्ण सुवेदीले बताउनुभयो । प्रदेश सरकार र नगरपालिकाबीच चिस्यान केन्द्रमा बत्ती जडानलगायतमा स्पष्ट नहुँदा र हस्तान्तरण नहुँदासमेत सञ्चालनमा समस्या आएको छ ।