• ११ असोज २०८१, शुक्रबार

‘घरेलु रक्सीको प्रवर्द्धन आवश्यक’

blog

परम्परागत मदिरा प्रवर्द्धन समितिद्वारा आयोजित कार्यक्रमका अतिथि। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ १६ गते । प्रदेश १ का उद्योग, श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गामले घरेलु रक्सी (मदिरा) को प्रवर्द्धन गर्न आवश्यक रहेको बताउनुभएको छ। आम्दानी वृद्धिसँगै आर्थिक समृद्धिका लागि घरेलु रक्सीको प्रवर्द्धन आवश्यक भएको मन्त्री हाङ्गामले बताउनुभयो। 

सदरमुकाम फुङ्लिङमा बिहीबार आयोजित एक कार्यक्रममा प्रदेश मन्त्री हाङ्गामले घरेलु रक्सीलाई ब्राण्ड बनाएर प्रवर्द्धन गर्नुपर्ने आवश्यक रहेकोमा जोड दिनुभयो। परम्परागत मदिरा (कोदोको रक्सी) प्रवर्द्धन समिति नामक संस्थाले आयोजना गरेको कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री हाङ्गामले घरेलु रक्सीलाई ब्राण्ड बनाएर अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने गरी आफूले पहल गरिरहेको बताउनुभयो। 

घरेलु मदिरालाई ब्राण्ड बनाई प्रवर्द्धन गर्नका लागि सांसद हुँदैदेखि पहल गर्दै आएको उहाँले बताउनुभयो। आफू मन्त्री भएपछि पनि पहिलो प्राथमिकता दिँदै घरेलु रक्सी (मदिरा) लाई ब्राण्डिङ गर्न र प्रवर्द्धनका लागि जोड दिँदै आएको उहाँले बताउनुभयो। 

घरेलु रक्सीको ब्राण्डिङ र प्रवर्द्धन गर्ने विषयमा सङ्घीय सरकारका श्रम तथा रोजगार मन्त्रीसँग पनि आफूले भेटेरै कुरा गरेको उहाँको भनाइ छ। 

सङ्घीय मन्त्रीसँगको सम्पर्कपछि प्रदेश सरकारमा आफूले घरेलु रक्सीलाई ब्राण्ड बनाउने योजनालाई अघि बढाएको उहाँले बताउनुभयो। कार्यक्रममा परम्परागत मदिरा प्रवर्द्धन समितिलाई सबै पक्षलाई समेटेर आफ्नो अभियानलाई अघि बढाउन सुझाव दिँदै मन्त्री हाङ्गामले आफूले पूर्ण सहयोग गर्ने बताउनुभयो। उहाँले घरेलु मदिरालाई ब्राण्ड बनाई प्रवर्द्धन गर्नका लागि प्रदेश सरकारले नीति निर्माणको प्रक्रिया सुरु गरिसकेको बताउनुभयो।

यता कार्यक्रममा समितिका संयोजक टेकबहादुर खजुमले परम्परागत मदिरालाई प्रदेश १ कै ब्राण्ड बनाउने गरी अभियानको सुरुवात गरेको बताउनुभयो। खजुमले प्रदेश १ का विभिन्न जिल्लामा पुगेर छलफल, अन्तर्क्रियाजस्ता गतिविधि गरिरहेको र स्थानीयले दिएको सुझाव लाईसमेत समेटेर आफूहरू घरेलु कोदोको रक्सीलाई प्रवर्द्धन गर्ने कार्यका लागि थप योजना बनाएर अघि बढ्ने बताउनुभयो। 

कार्यक्रममा परम्परागत मदिरा (कोदोको रक्सी) प्रवर्द्धन समिति बुद्धिजीवी फाँटका संयोजक देश वनेमले घरेलु रक्सीसम्बन्धी प्रारम्भिक अवधारण पत्र प्रस्तुत गर्नुभएको थियो। अवधारण पत्र प्रस्तुत गर्नुहुँदै वनेमले घरेलु मदिराको उत्पादन तथा प्रवर्द्धनका लागि सरकारी नीति नहुँदा कच्चा पदार्थको रूपमा प्रयोग हुने कोदो लगायतका अन्न तथा मदिरा उत्पादकले आम्दानी गुमाइरहनुपरेको बताउनुभयो।

यसैबीच ताप्लेजुङमा पनि इन्दिरा मेन्याङ्बो अध्यक्ष र पदम माबो लिम्बू सदस्य-सचिव रहेको १९ सदस्यीय जिल्ला स्तरीय परम्परागत मदिरा प्रवर्द्धन समिति गठन भएको छ। ताप्लेजुङसहित प्रदेश १ को आठवटा जिल्लामा जिल्ला स्तरीय समिति निर्माण भइसकेको पनि समितिकी सदस्य सरस्वता सिङ्घक (सरु) ले जानकारी दिनुभयो।