• १३ साउन २०८१, आइतबार

रक्तदानले १७ जना सुत्केरीको ज्यान जोगियो

blog

ज्यान जोखिममा परेका सुत्केरीलाई रगत दिदै नेपाली सेना । तस्बिर : जिल्ला अस्पताल बैतडी ।

गोकर्ण दयाल 

बैतडी, भदौ १६ गते । बैतडी अस्पतालमा शल्यक्रियासहितको प्रसूति सेवा भए पनि रक्त सञ्चार केन्द्र (ब्लड बैङ्क) नहुँदा अत्यधिक रक्तस्राव भएका १७ जना सुत्केरीलाई नेपाली सेनाका जवानले रगत दिएर ज्यान बचाएका छन् ।

बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मले गएको तीन वर्षको अवधिमा १७ जना सुत्केरीको ज्यान जोगाएको हो । मङ्गलवार दशरथचन्द नगरपालिका –४, जर्ग गाउँका २१ वर्षीया सुत्केरी महिलाको शल्यक्रियापछि अत्यधिक रक्तस्राव हुँदा अस्पतालमा रगत उपलब्ध नभएपछि नेपाली सेनाका बन्दोबस्ती कार्य सिपाही लोकेन्द्र कार्कीले रगत दिनुभएपछि सुत्केरीको ज्यान जोगिएको छ । 

रगत दिएर बाँचेका सुत्केरी आमा र बच्चाको अनुहारमा देखिने खुसीले गौरवको अनुभूति भएको रक्तदान गर्नुहुने नेपाली सेनाका लोकेन्द्र कार्कीले बताउनुभयो । बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मले गएको तीन वर्षमा १७ जना सुत्केरी महिलालाई रगत दिएर ज्यान जोगाएको गुल्मपति सेनानी गोविन्द थापाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “रक्तदान, जीवन दान भन्ने नारा भए पनि बैतडीमा ब्लड बैङ्क छैन । आपत् परेको बेलामा अस्पताल र सुत्केरीका आफन्तले सेनासँग सहयोग माग्दै आउनुभएको छ ।” देश र जनताको सेवा गरेर मानवीय धर्म निर्वाह गर्नुपर्ने दायित्व सम्झेर नेपाली सेनाले रगत सहयोग गर्दै आएको बताएको छ । 

यसअघि भदौ १० गते रक्त अल्पता भएर ज्यान जोखिममा परेका बिरामीलाई नेपाली सेनाका हवलदार लोकेन्द्र महताले गरेको रक्तदानले बिरामीको ज्यान जोगिएको सेनानी थापाले बताउनुभयो । जिल्लामा रक्त सञ्चार केन्द्र नहुँदा रगतको आवश्यकता परेका सुत्केरी र बिरामीलाई बचाउन सेना र प्रहरीकै भर पर्नुपर्ने अवस्था रहेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले बताउनुभयो ।