• १३ साउन २०८१, आइतबार

घट्दै गिद्धका गुँड

blog

धनगढी समाचारदाता

धनगढी, भदौ १६ गते । कैलालीमा गिद्धका गुँड घट्दै गएको पाइएको छ। सन् २०२२ मा गरिएको सर्वेक्षणबाट अघिल्लो वर्षको तुलनामा गिद्ध गुँड घटेको पाइएको हो। 

सन् २०२१ को सर्वेक्षणले गिद्धको गुँडको सङ्ख्या २८ वटा रहेको देखाएको थियो। यसैगरी सन् २०१३ मा गरिएको सर्वेक्षणको क्रममा ८२ वटा गुँड फेला परेका थिए। पहिलो चोटि २०३५ मा सर्वेक्षण गर्दा भने गुँडको सङ्ख्या ३५ रहेको थियो। 

कैलालीको खुटिया सामुदायिक वन, पटेला सामुदायिक वनलगायतका वन क्षेत्रमा गिद्धले गुँड लगाउने गरेका छन्। 

कैलालीमा गिद्धको गुँड केही घटेको देखिए पनि कञ्चनपुरमा गिद्धको गुँड निरन्तर बढ्दो क्रममा रहेको छ। सन् २०१० मा पहिलो पटक सर्वेक्षण गर्दा कञ्चनपुरमा जम्मा एउटा गुँड भेटिएको थियो। २०२१ मा भने ५६ वटा पुगेको थियो। पछिल्लो समय २०२२ मा सर्वेक्षण गर्दा सो जिल्लामा दोब्बरले वृद्धि भएर गुँड सङ्ख्या ११० पुगेको कैलाली, कञ्चनपुरमा गिद्धको गुँड सर्वेक्षण गर्दै आउनुभएका चराविद् हिरूलाल डङ्गौराले जानकारी दिनुभयो। 

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बन्साहा, पर्सिया क्षेत्रमा गिद्धको बसोबास र गुँड रहेको छ। कैलाली, कञ्चनपुरमा पाइने गिद्ध र गुँडको पन्छी संरक्षण सङ्घ (बीसीएन)ले सर्वेक्षण गर्दै आएको छ। दुवै जिल्लामा सात प्रजातिको गिद्ध पाइने गरेका छन्। कैलालीमा करिब एक सयको हाराहारीमा गिद्ध रहेको जनाइएको छ। त्यस्तै कञ्चनपुरमा गिद्धको सङ्ख्या तीन सयको हाराहारीमा रहेको छ। कैलालीमा गिद्धको सङ्ख्या पनि घट्दै गएको देखिएको डङ्गौराले बताउनुभयो। “तर कञ्चनपुरमा भने सङ्ख्या बढ्दै गएको छ,” उहाँले भन्नुभयो। 

दुवै जिल्लामा डङ्गर, सुन, गोब्रे, सानो खैरो गिद्धले प्रजनन कार्य गर्ने गरेको डङ्गौराले बताउनुभयो। उहाँका अनुसार कैलाली, कञ्चनपुरमा पाइने डङ्गर, सानो खैरो, सुन गिद्ध अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) को अति सङ्कटापन्न सूचीमा रहेका छन्। गोब्रे गिद्ध भने दुर्लभ अवस्थामा रहेको जनाइएको छ। 

नेपालमा पाइने हिमाली गिद्ध नेपालको रैथाने प्रजाति हो। रैथाने यो गिद्ध जाडो छल्नका लागि कैलालीमा पनि पुग्ने गर्दछन्। राज गिद्ध र खैरो गिद्ध भने नेपालमा जाडो सिजनमा पाहुनाको रूपमा मात्रै आउने गरेको चराविद् डङ्गौराको भनाइ छ। 

डङ्गौराका अनुसार १९९० को दशकदेखि एसियामा गिद्धको सङ्ख्यामा नाटकीय रूपमा कमी आएको छ। २३ वर्षको समायवधिमा भारतमा डङ्गर गिद्धको सङ्ख्या ९९.९ प्रतिशतले घटेको अध्ययन प्रतिवेदनले देखाएको थियो। सन् २००२ देखि गरिएको वैज्ञानिक अध्ययनले नेपालमा गिद्धको सङ्ख्या ९१ प्रतिशतले घटेको छ। 

प्रकृतिको कुचीकार मानिने गिद्धको सङ्ख्या घट्दै गएपछि गिद्ध संरक्षणमा टेवा पु-याउने उद्देश्यले नेपाललगायत विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउने गरिएको छ। नेपालमा यस वर्ष १४औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस विभिन्न कार्यक्रम गरेर भदौ १६ देखि २२ गतेसम्म सप्ताहव्यापी रूपमा मनाइने डङ्गौराले जानकारी दिनुभयो। बीसीएनको अगुवाइमा विद्यालय, क्याम्पस, विभिन्न सरकारी निकाय, सामुदायिक तथा गैरसरकारी संस्थामा विभिन्न कार्यक्रम गरेर गिद्ध सचेतना दिवस मनाइने जनाइएको छ।