• ११ असोज २०८१, शुक्रबार

‘मन्त्री हुनु भनेको मोजमस्ती गर्न होइन’

blog

गाईघाट समाचारदाता

गाईघाट, भदौ १६ गते । परराष्ट्रमन्त्री डा. नारायण खड्काले माननीय र मन्त्री हुनु भनेको मोजमस्ती गर्न नभएर जनताका चाहना र आवश्यकताका आधारमा मुलुकको समग्र विकास निर्माणका काम गर्नका लागि हो, भन्नुभएको छ। सो कुरा उहाँले उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित बिसनपुरमा बुधबार आयोजित बिसनपुर र वडा नम्बर २ को खैजनपुर जोड्ने त्रियुगा नदीमा निर्माण गर्न लागिएको अत्याधुनिक डिजाइनको करिब चार सय मिटर लामो झोलुङ्गे पुलको शिलान्यास कार्यक्रममा बताउनुभएको हो।

परराष्ट्रमन्त्री डा. खड्काले उदयपुर जिल्ला विकास निर्माणका लागि धेरै सम्भावना भएको जिल्ला हो भन्दै विकास निर्माणका काममा दलीय राजनीतिक खिचलो हुन नहुने बताउनुभएको छ। विकासको प्रतिफल उपभोग गर्ने आमजनता नै हुने भएकोले योजनाहरू आमजनताको हितमा हुनेगरी निर्माण गर्नु अहिलेको आवश्यकता भएको बताउनुभएको छ। 

उहाँले सप्तकोसीको पक्की पुल, निर्माणाधीन त्रियुगा नदी नियन्त्रणका लागि करिब आठ अर्बको बजेटको सुनिश्चितता, विभिन्न स्थानमा सञ्चालित खानेपानी योजना र धेरैवटा शैक्षिक संस्थाका भवनका योजना आफ्नो प्रयासका कारण आएको र त्रियुगा नगरपालिका–२, जोगीदहमा निर्माणाधीन सगरमाथा विमानस्थलको काम पनि आफ्नै भगीरथ प्रयासको उपलब्धि भएको बताउनुभयो। एक अर्काे प्रसङ्गमा उहाँले वर्तमान सरकार गठन भएपछि नेपालको अन्तर्राष्ट्रिय छवि धेरै सुध्रिएको र राष्ट्रको हितमा देशको मान–प्रतिष्ठा बढाउने काम भएकोले पछिल्लो समय नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय निकायहरू निकै उत्साहित  भइरहेको जानकारी दिनुभयो । 

जिल्लाको सबैभन्दा पुरानो गाईघाट–फत्तेपुर सडक निर्माणमा करिब चार अर्ब पुल बनाउनमै लगानी गर्नुपर्ने भएकोले भौतिक योजना मन्त्रालयमार्फत भारत सरकारको लगानी भित्र्याउन पहल भइरहेको छ बताउनुभयो। उहाँले वर्तमान सरकार संविधानको अक्षरशः पालना गर्दै अगाडि बढेकोले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि अब मङ्सिर ४ मा प्रदेश र सङ्घीय संसद्को निर्वाचनसमेत सम्पन्न गराउन सरकार जुटिरहेको स्पष्ट पार्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारका सडक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्कीले आफूहरूले बेल्नेभन्दा काम गरेर देखाउने भन्दै चुनावको मुखमा पुल शिलान्यास गरेको आरोप कसैले लगाए त्यो गलत हुने दाबी गर्नुभयो। मन्त्री कार्कीले त्रियुगा नगरपालिकाभित्र धेरै काम गर्न बाँकी रहेकोले आफ्नो मन्त्रालयमार्फत हुने सबैखाले योजनामा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

कतिपय विकास निर्माणका योजना सम्पन्न गर्न भइरहेको ढिलासुस्तीप्रति आक्रामक हुँदै मन्त्री कार्कीले राजनीतिक नेतृत्वबाट पहल गरेर जनताको सुविधाका लागि ल्याइएका योजनाको निर्माण व्यवसायीले चरम ढिलासुस्ती गरिरहने र त्यसलाई कर्मचारीतन्त्रले छिटो गराउन पहल नगर्ने परिपाटी व्यापक रहेको छ, भन्नुभयो।

उहाँले मुलुकमा राजनीतिक परिवर्तन आए पनि ठेकेदारी प्रथा र कर्मचारीतन्त्र पुरानै रहेकोले जनताले चाहेजति काम हुन नसकेको भन्दै विगत पाँच वर्षदेखि अलपत्र परेको बरुवा झोलुङ्गे पुल, धाप्लाङ–सुनकोसी पक्की पुल, रानीटार–सुनकोसी पक्की पुल, त्रियुगा नदीको सिवाहीस्थित पक्कीपुल, बेलकाको गिदेरीखोलाको पक्की पुल र गाईघाट–दिक्तेल सडक निर्माणमा भएको व्यापक ढिलासुस्तीका उदाहरण हुन, भन्नुभयो।

३९४ मिटर लम्बाइको मल्टिस्पान सस्पेन्सन डिजाइनको लामो पुल निर्माण गर्न अन्सुमान रुविना जेभीले आगामी दुई वर्षभित्रमा सम्पन्न गर्नेगरी छ करोड ७९ लाख ९९ हजार ३५६ रुपियाँको लागतमा ठेक्का सम्झौता भएको छ। सहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विकास सस्पेन्सन बृज डिभिजनद्वारा आयोजित सो कार्यक्रममा मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, आयोजना प्रमुख भरतप्रसाद अर्याल, जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरबहादुर विक तथा त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले बोल्नुभएको थियो।