• ६ साउन २०८२, मङ्गलबार

चट्याङमा परी घाइते भएकाहरूप्रति गृहमन्त्रीको चासो

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन 

काठमाडौँ, भदौ १५ गते । गृहमन्त्री बालकृष्ण खाणले गए राति दाङ जिल्लाको घोराही उपमहानगरपालिका १२ गरौँ गाउँमा कुलवीर बुढाको आँगनमा परेको चट्याङमा परी घाइते भएकाहरूको अवस्थाबारे जानकारी लिनुभएको छ । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल प्रहरीका जिल्ला प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीलाई टेलिफोन गरी घाइतेको अवस्थाबारे जानकारी लिनुभएको हो । 

घाइतेलाई अस्पतालसम्म पुर्‍याइ नसकिएको भए तत्काल पुर्‍याउन र सहज उपचारको व्यवस्था गर्न निर्देशन दिँदै गृहमन्त्री खाणले जिल्लामा रहेको स्रोत र साधनबाट सम्भव नहुने भए केन्द्रमा जानकारी गराउन निर्देशन दिनुभएको जानकारी गृहमन्त्रीको निजी सचिवालयले दिएको छ । 

चट्याङ लागेर सोही गाउँकी १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मनीषा शाहको मृत्यु भएको दाङका प्रहरी प्रमुख उपरीक्षक वलीले जानकारी दिनुभयो । चट्याङ लागेर नौ जना घाइते भएकोमा ५ जनाको सामान्य रहेको वलीले बताउनुभयो ।

सोही गाउँका १५ वर्षीय निरुता शाह, १५ वर्षकै जयन्ती घर्ती, १६ वर्षकी यामुसरी थापा र ३८ वर्षकी यमकुमारी शाहको अवस्था सामान्य रहेको र त्यहाँ सवारी साधनमा ल्याउन सक्ने अवस्था नरहेकाले डोकोमा राखेर उपचारका लागि अस्पताल ल्याउँदै गरिएको छ । 

घाइतेहरू बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । त्यस्तै, घटनामा १४ वर्षीया अञ्जना घर्ती, ३८ वर्षीया बेलकुमारी घर्ती १५ वर्षकी सावित्री वली, ४२ वर्षकी मनकुमारी वली र चार वर्षीया जेनिशा शाह सामान्य घाइते भएको प्रहरीले जनाएको छ । यथाशक्य उपचारको व्यवस्था गर्न गृहमन्त्री खाणले निर्देशन दिनुभएको छ ।