गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १५ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नारायणहिटी दरबार सङ्ग्रहालयलाई नेपालको ऐतिहासिक महत्त्व झल्किने सङ्ग्रहालयको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
पार्टीको केन्द्रीय पर्यटन विभागले काठमाडौंमा आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौतीहरू’ विषयक गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो । नारायणहिटी सङ्ग्रहालयलाई इतिहासदेखि राजतन्त्रको समाप्तिसम्मको समयलाई मात्र सङ्ग्रहालय बनाउनुपर्ने उहाँको भनाइ छ ।
सो सङ्ग्रहालयमा नेपालमा हालसम्म शासन गरेका विभिन्न वंशका राजाहरूको पालाको अवस्था झल्किनुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष नेपालले गणतन्त्रको सङ्ग्रहालय छुट्टै बनाउनुपर्ने बताउनुभयो । नेपालमा विभिन्न जातजाति र भाषाहरू रहेकाले जातीय सङ्ग्रहालय पनि बनाउनुपर्ने अध्यक्ष नेपालले धारणा राख्नुभयो ।
अध्यक्ष नेपालले विकास निर्माणको काममा अदालतले अवरोध गर्नु उचित नरहेको पनि बताउनुभयो । कामलाई अदालतले रोकिदिने र सरकार निरीह हुने अवस्था आउनु उचित होइन नेता नेपालले भन्नुभयो, “अदालत विकास प्रेमी हुनुपर्छ, सरकारको विकासे काममा अवरोध गर्नु हुँदैन ।”
अध्यक्ष नेपालले नेपालमा विकास निर्माणको काम गर्दा सम्भाव्यता अध्ययन नहुने गरेको पनि उहाँले धारणा राख्नुभयो । विकास निर्माणको काममा अध्ययन तथा अनुसन्धान नगर्ने प्रवृत्ति छ, त्यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ उहाँले भन्नुभयो ।