• ३ असार २०८१, सोमबार

आमनिर्वाचन २०७९: दुई लाख ४६ हजार कर्मचारी परिचालन हुने

blog

काठमाडौँ, भदौ १५ गते । आगामी चुनावमा करिब दुई लाख ४६ हजार कर्मचारी परिचालन हुने भएका छन्। निर्वाचन आयोगका अनुसार निर्वाचनमा आवश्यकमध्ये करिब ९८ प्रतिशत कर्मचारी मतदान केन्द्रमा परिचालन हुने छन्। 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान केन्द्रको सङ्ख्यामा निर्भर भए पनि करिब दुई लाख ४६ हजार ९६० जनशक्ति आवश्यक पर्ने जानकारी दिनुभयो। आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान केन्द्रको सङ्ख्या करिब २३ हजार सात सय हुने अनुमान गरेको छ। स्थानीय चुनावमा २१ हजार ९५५ मतदान केन्द्र तोकिएको थियो। प्रवक्ता पौडेलले भन्नुभयो, “तर मतदान केन्द्र पुनरवलोकन भएर बढ्ने सम्भावना रहेकाले सोही अनुपातमा जनशक्ति थपिने छन्।”

प्रत्येक मतदान केन्द्रमा ११ जना जनशक्ति हुने छन्। मतदान केन्द्रमा आठ जना कर्मचारी र तीन जना स्वयंसेवक राखिने आयोगले जनाएको छ। यसरी दुई लाख ४२ हजार कर्मचारी मतदान केन्द्रमै केन्द्रित हुने आयोगले जनाएको छ। 

स्थानीय चुनावमा महानगरपालिका, नगरपालिका र गाउँपालिका अनुसार मतदान केन्द्रमा खटिने कर्मचारीको सङ्ख्या पाँचदेखि आठ जनासम्म थियो। उक्त चुनावमा निर्वाचन अधिकृतको कार्यालय ७५३ र मतगणनासमेत प्रत्येक पालिकामा भएकाले कर्मचारी सङ्ख्या एक लाख नौ हजार ८८ जना थिए। करिब ६५ हजार स्वयंसेवक थिए। 

तर, आगामी चुनावमा १६५ निर्वाचन क्षेत्र मात्रै रहेकाले सोही सङ्ख्यामा निर्वाचन अधिकृतको कार्यालय रहने छन्। प्रत्येक मतदान केन्द्रमा खटिने कर्मचारी भने चार जना बढेका छन्। चार प्रकारको मतपत्र रहेकाले मतदातालाई मतपत्र दिन छुट्टाछुट्टै कर्मचारी खटिने छन्। 

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा एक हजार ४८५ कर्मचारी नियुक्त हुने छन्। जसबमोजिम प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा नौ जना कर्मचारी रहने छन्। निर्वाचन अधिकृतको कार्यालय घटे पनि मतदान केन्द्र र त्यसमा खटिने जनशक्ति थपिएको प्रवक्ता पौडेलले प्रस्ट्याउनुभयो। 

आयोगको केन्द्रीय कार्यालयसहित प्रदेश र जिल्लास्थित कार्यालयमा एक हजार जनशक्ति आवश्यक हुने जनाइएको छ। केन्द्रीय कार्यालयमा काजमा आउने तथा प्रदेश र जिल्लाका कर्मचारीसहित सचिवालयमा एक हजार कर्मचारी रहने प्रवक्ता पौडेलले बताउनुभयो। 

त्यसैगरी मतगणनाका लागि आयोगले दुई हजार ४७५ जना कर्मचारी आवश्यक हुने जनाएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीमा प्रतिनिधि सभातर्फ १६५ र प्रदेश सभातर्फ ३३० वटा क्षेत्र रहेका छन्। मतगणना कार्यका लागि क्षेत्रअनुसार पाँच जना कर्मचारी परिचालन गरिने छन्। 

प्रवक्ता पौडेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय आयोगमै रहेकोले देशैभरिको प्रतिनिधि र प्रदेश सभा सदस्यको समानुपातिकतर्फको आयोगमै गणना हुने बताउनुभयो।