गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १३ गते । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आगामी निर्वाचनमा तनहुँको निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने तयारी गर्नुभएको छ ।
सोमबार राजधानीमा आयोजित केही समाचार माध्यमका सम्पादकसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले देशमा नैतिकता र सुशासनको खडेरी परेको र यसमा भूमिका खेल्न जनताको जनादेश आवश्यक परेको बताउनुभयो ।
पौडेलले भन्नुभयो, “म जनताको म्याण्डेट लिन तनहुँबाट उम्मेदवार बन्न चाहेको हो । मर्नुभन्दा अगाडि केही गरेर मरौं भन्ने इच्छा छ, केही गर्न सकिन्छ कि भनेर चुनाव लड्न खोजेको हुँ ।”
उहाँले देशका १६५ वटै प्रत्यक्षतर्फको निर्वाचन क्षेत्रमा कांग्रेसको चुनाव चिन्ह हुनुपर्ने एवम् समानुपातिकको भोट जोगाउन, गठबन्धन बलियो बनाउन र भोट साटासाट गर्न पनि यो आवश्यक रहेको चर्चा गर्नुभयो ।
विश्वमा लोकतन्त्र नै उत्तम व्यवस्था भएको भन्नुहुँदै उहाँले संविधान कार्यान्वयन र नेपालको वास्तविकतामा आधारित विकासबारे सोच्नुपर्ने धारणा राख्नुभयो । अहिलेको गठबन्धन व्यावहारिक आवश्यकता रहेको र कांग्रेसले माओवादीसँग गठबन्धन नगरे एमाले र माओवादीबीच गठबन्धन हुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “हामीले नगरे अर्कोले गर्छ, कांग्रेसले पहिले आफूलाई टिकाउनु पर्छ । कांग्रेस एक्लै लडेर जित्ने अवस्था छैन । हामीले अहिलेसम्म जति काम गरेका छौं, त्यो कामबाट जनता सन्तुष्ट भएर ५१ प्रतिशत भोट हामीले बनाएका छौं ? ५१ प्रतिशतको भोटको कमाण्ड गर्न सक्ने कांग्रेस छ त ?” यसकारण गठबन्धन गर्नैपर्ने आवश्यकता रहेको उहाँले चर्चा गर्नुभयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि चर्चा गर्नुहुँदै उहाँले नेपाल छिमेकी मुलुकहरु भारत र चीनसँग प्रतिस्पर्धा गर्ने अवस्थामा नरहेको तर, निर्यात गर्न सकिने उत्पादनलाई निर्यात गर्ने र आयातलाई कम गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले राष्ट्रका समस्यालाई समाधान गरेर मुलुकलाई अगाडि बढाउनका लागि लोकप्रिय नारा र भावनात्मक कुराहरुका पछाडि लागेर मात्र सम्भव नरहेको स्पष्ट पार्नुभयो । अहिले विश्वका शक्ति राष्ट्रहरुबीचको लडाइले पनि चुनौती उत्पन्न गरिरहेको र ती शक्ति राष्ट्रहरुले केही न केही बाहानामा आफ्नो पक्षमा तान्न खोजेको उहाँले बताउनुभयो ।
नेपाललाई समृद्ध बनाउन सबैभन्दा ठूलो कुरा सुशासन रहेको बताउनुहुँदै उहाँले यसका लागि नैतिक शक्ति आवश्यक पर्ने उल्लेख गर्नुभयो । यसबाट मात्रै भ्रष्टाचार, विसंगति, बेथितिका विरुद्ध पहलकदमी गर्न सकिनेमा उहाँले जोड दिनुभयो ।