• ११ असोज २०८१, शुक्रबार

नेपाल–भारत मैत्री भवन उद्घाटन

नेपालका लागि भारत असल छिमेकी

blog

इनरुवा समाचारदाता 

इनरुवा, भदौ १३ गते । सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने वराह क्षेत्र नगरपालिका–६ चक्रघट्टीमा भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको महेन्द्र माध्यमिक विद्यालयको नेपाल–भारत मैत्री भवन उद्घाटन भएको छ । भारतले असल छिमेकी मित्र राष्ट्रको हिसाबले महेन्द्र माविका लागि दुई करोड २१ लाख रुपियाँको लागतमा निर्माण गरिदिएको १६ कोठाको भवन उद्घाटन गरिएको हो । 

विद्यालयको नेपाल–भारत मैत्री भवनको सङ्घीय सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा सञ्चारमन्त्री कार्कीले नेपाल–भारत मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा लान यस्ता कार्यक्रमले योगदान गर्ने बताउनुभयो । उहाँले समृद्ध नेपाल र विकासका लागि असल छिमेकीको रूपमा भारत सरकार रहेको र विभिन्न क्षेत्रमा सहयोग प्राप्त भएको बताउनुभयो । 

उहाँले नेपाल–भारत सम्बन्ध २००७ साल यता प्रगाढ रहेको बताउनुभएको छ । उहाँले भारत सरकारले शिक्षा, स्वास्थ्य, सडक, पर्यटन, भौतिक पूर्वाधार र मानवीय स्रोतमा समेत सहयोग गर्दै आएको बताउनुभयो । उहाँले भारतीय पर्यटकलाई भिœयाउने सम्भावना उच्च रहेकाले बराह क्षेत्र, रामधुनी, पिण्डेश्वर, दन्तकालीसहित क्षेत्रको प्रचार गर्न जरुरी रहेको बताउनुभयो । दुवै देशको सहकार्यमा विकास गर्नुपर्ने र भारतबाट आर्थिक लाभ लिनका लागि यस प्रकारका कार्यक्रम सार्थक भएको मन्त्री कार्कीको भनाइ छ । 

उहाँले नेपाललाई भारत सरकारले प्रत्येक वर्ष १० अर्ब रुपियाँ बराबरको आर्थिक सहायता उपलब्ध गराएको स्मरण गराउँदै पछिल्लो एक दशकमा ६० अर्ब रुपियाँ बराबरको विकास र आर्थिक सहायता उपलब्ध गराएको बताउनुभयो । नेपालको विकासका लागि भारत सरकारबाट शिक्षातर्फ विद्यालय भवन, स्कुल बस, स्वास्थ्य क्षेत्रमा अस्पताल निर्माण र एम्बुलेन्स, भौतिक पूर्वाधारदेखि सडक, सिँचाइ, पुल, रेल मार्गसम्ममा सहयोग प्राप्त भएको उहाँले बताउनुभयो । उहाँले नेपालको विकासमा सहयोग र सद्भाव राख्ने काम गरेकाले असल छिमेकीका रूपमा भारतलाई लिएको बताउनुभयो ।  

सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि धार्मिक पर्यटनलाई जोड्न आवश्यक रहेको बताउनुभयो । सभ्यता, संस्कार र संस्कृतिसमेत नेपाल र भारतमा एकै प्रकारका रहेकाले यसले पनि दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाएको उहाँले बताउनुभयो । 

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकार नेपाललाई असल छिमेकी मुलुकको हिसाबले सबैभन्दा बढी प्राथमिकतामा राखेको बताउनुभएको छ । उहाँले नेपाललाई सदैव भारतको सहयोग रहने बताउनुभयो । उहाँले सुनसरीका लागि मात्र सातवटा स्कुल बस, केही एम्बुलेन्स र अस्पतालमा पनि सहयोग गरेको बताउनुभयो । 

श्रीवास्तवले नेपालमा आफूलाई दिएको माया, सद्भाव र सम्मानले आफूलाई उत्साहित बनाएको बताउँदै नेपालको सबैखाले विकासमा भारत सरकारको सहयोग सदैव रहने बताउनुभयो । 

कार्यक्रममा वराह क्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले एउटै मञ्चमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदूत नवीन श्रीवास्तवलाई मायाको चिनो स्वरूप वराह क्षेत्रको तस्बिर हस्तान्तरण गर्नुभयो । भवन उद्घाटन समारोह कार्यक्रम जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो ।