• १३ साउन २०८१, आइतबार

टिकटका लागि नेताहरुको दलबदल

blog

माला कर्ण

कल्याणपुर, भदौ १२ गते । गत स्थानीय निर्वाचनमा उम्मेदवार बन्न दलबदल गरेका नेताहरु फेरि संसदीय निर्वाचनमा टिकट पाउन दलबदलको अभ्यास थालेका छन् । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै स्थानीय तहमा पराजित भएका उम्मेदवारहरु टिकटका लागि पुनः पार्टी परिवर्तन गर्न थालेका हुन् । 

प्रदेश र प्रतिनिधि सभाका लागि निर्वाचन कार्यक्रम घोषणा भएकाबेला चुनावी माहौल आफ्नो पक्षमा देखाउन पार्टी प्रवेशको कार्यक्रमले तिब्रता पाउन थालेको छ । तीन महिनाअघि मात्र पार्टी परिवर्तन गरेर स्थानीय तहमा उम्मेदवार बनेका पराजित नेता, कार्यकर्ता पार्टी परिवर्तन गर्ने अग्रपङ्क्तिमा देखिएके दलका कर्याकर्ताको भनाइ छ । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू शरतसिंह भण्डारी, अनिलकुमार झा, जितेन्द्र सोनल, जयप्रकाश ठाकुर लगायतको उपस्थितीमा तामझामका साथ राजविराजमा पार्टी प्रवेशको कार्यक्रम सम्पन्न भएको छ । जसमा राजविराज नगरपालिकाका निवर्तमान नगरप्रमुख शम्भुप्रसाद यादवसहित निवर्तमान वडा अध्यक्षले लोसपा प्रवेश गर्नुभयो ।  

अघिल्लो स्थानीय तहको निर्वाचनमा तत्कालिन राजपाबाट नगरप्रमुखमा निर्वाचित जसपामा रहेका यादवले टिकट नपाएपछि मनोनयनको दिन नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरी राजविराज नगर प्रमुखको उम्मेदवार बन्नुभएको थियो । 

त्यस्तै, शनिबार मात्रै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तात्कालिन जिल्ला समवन्य समिति सप्तरीका प्रमुख प्रभाकर यादवलाई पार्टी प्रवेश गराउनुभयो । तत्कालिन राजपाबाट जिसस प्रमुख बन्नुभएका प्रभाकर एकीकृत बनेको जसपा विभाजित हुँदा लोसपामा आबद्ध हुनुहुन्थ्यो । लोसपाले स्थानीय तह २०७९ मा उम्मेदवार नबनाएपछि उहाँ जनता प्रगतिशील पार्टीबाट छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बन्नुभयो । 


प्रभाकरसँगै छिन्नमस्ता गाउँपालिका –७ का निवर्तमान वडा अध्यक्ष प्रमिलादेबी यादव, अमरनाथ मण्डल, विवेकशील पार्टीका केन्द्रीय सदस्य सुमनकुमार मिश्र लगायतले जसपा प्रवेश गर्नुभएको छ । अमरनाथ मण्डल पनि गत स्थानीय तहको निर्वाचनमा प्रभाकरसँगै जनता प्रगतिशील पार्टी प्रवेश गरी राजविराज नगरपालिका वडा ६ को अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । 

त्यस्तै, गत बिहीबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का युवा नेता तथा तिलाठी कोइलाडी गाउँपालिकाका पूर्व अध्यक्ष सतिशकुमार सिंह जनमत पार्टीमा प्रवेश गर्नुभयो । गत स्थानीय तहको निर्वाचनमा लोसपाबाटै उम्मेदवारी दिनुभएका सिंहले अहिले पुनः टिकटको लोभमा पार्टी परिवर्तन गर्नुभएको कार्यकर्ताको बुझाइ छ ।

यसरी स्थानीय तहको निर्वाचनमा टिकटको लागि रातारात पार्टी परिवर्तन गरेका सप्तरीका नेताहरु अहिले संसदीय निर्वाचनमा टिकट पाउन अर्काे पार्टीमा प्रवेश गर्न थालेका छन् । पार्टी परिवर्तन गरी आउनेलाई पार्टी टिकट बाँड्दा पार्टीमा वर्षौदेखि संघर्ष गर्दैआएका नेताहरु उपेक्षित हुनेगरेको बताउनुहुन्छ नेकपा समाजवादी पार्टीका खडक नगरपालिकाका इन्चार्ज शत्रुघनप्रसाद साह ।