• १३ साउन २०८१, आइतबार

डडेलधुरामा ट्रायल सेन्टरको उद्घाटन

blog

डडेलधुरामा सवारी चालक अनुमतिपत्रका लागि भएको ट्रायलको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री भट्ट। तस्बिरः पुष्कर भण्डारी।

पुष्कर भण्डारी

डडेल्धुरा, भदौ ११ गते।  सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले कार्यालयको विस्तार हुँदा त्यहाँ हुने  गडबडी रोकिने बताउनुभएको छ।  शनिबार डडेलधुरामा सवारी चालक अनुमतिपत्र (लाइलेन्स) को ट्रायल सेन्टरको उद्घाटन गर्दै उहाँले एकै ठाउँमा मात्रै कार्यालय हुँदा गडबडी हुने उल्लेख गर्नुभयो।  

यातायात व्यवस्था कार्यालय स्थापना भएको नौ वर्षपछि डडेलधुरामा चालक अनुमति पत्र वितरणका लागि पहिलो पटक लिइएको ट्रायलको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले यातायात कार्यालयमा हुने भ्रष्टाचार रोकिने बताउनुभएको हो।  

‘‘एकै स्थानबाट सेवा प्रवाह हुँदा चाप बढ्छ र गडबडीको सम्भावना रहन्छ।  प्रदेश सरकारले कार्यालय स्थापना र विस्तारको काम अघि बढाइरहेको छ’’, उहाँले भन्नुभयो।  सुदूरपश्चिम प्रदेशमा यस अघि कैलाली र कञ्चनपुरबाट मात्रै अनुमतिपत्र प्रदान हुँदै आएको थियो।  दुई वटा जिल्लाबाट मात्रै अनुमतिपत्र वितरण हुँदा सेवाग्राहीको चाप बढीहुने भएकाले कर्मचारी लगायत दलालले गडबडी गर्ने गरेको मुख्यमन्त्री भट्टको भनाइ थियो।  ‘‘हाम्रो देशमा यातायात र मालपोत कार्यालय बदनाम भएका छन्’’, उहाँले भन्नुभयो, ‘‘बढी चाप हुने कार्यालय भएकाले गडबडी हुने घटना बाहिर आउने गरेका थिए।  तर, अहिले त्यस्तो छैन। ’’ 

डडेलधुरा र डोटीबाट सावारी चालक अनुमतिपत्र वितरण हुनथालेपछि चापका कारण हुने गडबढी पनि रोकिने उहाँको विश्वास छ।  जिल्लाबाटै सेवाग्राहीलाई सेवा प्रदान गर्न प्रदेश सरकारले कार्यालय स्थापना गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो।  

डडेल्धुरामा ट्रायल सेन्टर लिजमा लिई यातायात व्यवस्था कार्यालयले ट्रायल लिन सुरु गरेको छ।  आफ्नै जमिनका लागि सरकारले पहल अघि बढाउन जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारीले आग्रह गर्नुभयो।