• १३ साउन २०८१, आइतबार

लेखक दाहालको औपन्यासिक कृति ‘मध्याह्न झुल्के घाम र गोधूली’ सार्वजनिक

blog

काठमाडौं, भदौ ११ गते । लेखक तथा पत्रकार ईश्वर दाहालको औपन्यासिक कृति ‘मध्याह्न झुल्के घाम र गोधूली’ सार्वजनिक गरिएको छ । पर्यटन बोर्डमा शुक्रबार आयोजित कार्यक्रममा आख्यानकार बुद्धिसागर चपाई, लेखक वसन्त बस्नेत, समाजशास्त्री नारायणी देवकोटा र उपन्यासका लेखक ईश्वर दाहालले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नुभएको हो ।

लेखक दाहालको यसअघि ‘तात्दैछन् चिसा मानचित्रहरु’ (उपन्यास) र ‘मेरा महान चित्रकारिता’ (कथासङ्ग्रह) प्रकाशित छन् । सिन्धुलीका लेखक दाहालले १९ वर्षको उमेरमा महाकाव्य लेख्नुभएको थियो ।

सोही अवसरमा आयोजित पुस्तक चर्चा कार्यक्रममा आख्यानकार बुद्धिसागरले चली आएको शैलीभन्दा पृथक् रुपमा लेखक दाहालले नयाँ प्रयोग भित्र्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो हाम्रो पुस्ताकाे कथा रहेछ । पात्रको कथा भन्ने शैली राम्रो लाग्यो ।”

लेखक तथा पत्रकार वसन्त बस्नेतले उपन्यासमा पत्रकारको मनोदशालाई झरिलो तरिकाले चित्रण गरेको बताउनुभयो । उहाँले पात्रहरूको परिवेश र अन्तरसंघर्षबारे उपन्यासमा मीठो शैली प्रस्तुत गरिएको चर्चा गर्नुभयो ।

उपन्यासको चर्चा गर्दै बस्नेतले भन्नुभयो, “विसं २०४६ सालयता नेपालमा भएका राजनीतिक परिवर्तनलाई आम मान्छेको आँखाबाट उपन्यास लेखिएको छ ।” समाजशास्त्री नारायणी देवकोटाले उपन्यासले आफ्नो पुस्ताको कथा भन्न सफल भएको बताउनुभयो ।


उहाँले भन्नुभयो, “देशको राजनीतिक परिवर्तनका रोचक कथा उपन्यासमा पाएँ । इतिहास उभिएको छ, फिक्सनका रुपमा ।” उपन्यासका लेखक ईश्वरले पाँच वर्षअघि नै उपन्यास तयार भए पनि उपन्यास भयो कि भएन भन्ने निक्र्यौलमा पुग्न समय लागेको बताउनुभयो ।

उहाँले बाल्यकालदेखि समाजमा देखेका, भोगेका सामाजिक र राजनीतिक परिवर्तन र पात्रलाई उपन्यासमा उतार्ने प्रयास गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशमा परिवर्तन भए पनि सामान्य मानिसको आँखाले कसरी हेरिरहेको छ त ? त्यही आम मान्छेको आँखाबाट हेरेर उपन्यासमा उत्रने प्रयास गरेँ ।” साङ्ग्रिला बुक्सले उपन्यास बजारमा ल्याएको हो ।