रमेश विश्वकर्मा
गुल्मी, वैशाख ५ गते । गुल्मी चेम्बर अफ कमर्श गुल्मीको तम्घासमा आयोजनामा गर्न लागेको ‘दोस्रो गुल्मी महोत्सव’ को सम्पूर्ण तयारी पूरा गरी शुक्रबारदेखि सुरु गरिएको छ । यो महोत्सव ‘गुल्मी जिल्लाको समृद्धिको आधार : कृषि पर्यटन र व्यापार’ भन्ने मूल नारासहित यहि वैशाख १७ गतेसम्म तम्घासस्थित नुनथलामा चल्ने आयोजकले जनाएको छ ।
विशेषगरी जिल्लाको शिथिल रहेको अर्थतन्त्रलाई चलायमान बनाउका लागि महोत्सवको आयोजना गरिएको हो । यस जिल्लाका विभिन्न कला, संस्कृतिको संरक्षण गर्दै स्थानीय उत्पादनको प्रवर्धन तथा बजारीकरणसँगै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको गुल्मी चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र भुसालले बताउनुभयो ।
महोत्सवमा विभिन्न संस्कृति र झाँकीसहित जिल्लाका स्थानीय खानालाई समेत प्रचार प्रसार गरिने छ । स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मको दिनहुँ प्रस्तुति बताइएको छ । महोत्सवमा राखिएका तीन सय स्टलहरू सबै बुकिङ भएको छ । स्थानीय फेन्सी व्यवसायीलाई पाँच वटा स्टल निःशुल्क र २० वटा स्टलहरू स्थानीय व्यवसायीलाई प्रोत्साहनका लागि ३० प्रतिशत शहुलियत छुटमा उपलब्ध गराइएको छ ।
महोत्सव सञ्चालन स्थलमा अहिले स्टल निर्माण, डुङ्गा, रेल, पिङलगायतका मनोरञ्जनात्मक खेलहरू सञ्चालनका लागि सामग्री जडानसहित विभिन्न कार्य गरिएको छ । महोत्सवमा झण्डै डेढ लाख दर्शक भित्र्याउने लक्ष्यसहित ३० करोड बराबरको कारोबार गर्ने अपेक्षा आयोजकले लिएको छ ।
महोत्सवमा टिकट शुल्क सय निर्धारण गरिएको छ । जसमा विद्यार्थीलाई ५० रुपियाँ, ७० वर्ष माथिका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र पाँच वर्ष मुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले महोत्सवको उद्घाटन गर्नुभयो ।