इलाम, असार ३ गते । सूर्योदय नगरपालिकाले सञ्चालन गरेको ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’अन्तर्गत चालु शैक्षिकसत्रका लागि ३२ जनासँग स्नातक तहको अध्ययनका लागि छात्रवृत्तिको सम्झौता गरेको छ ।
नगरपालिकाले गरिब, अध्ययनबाट टाढिएका तथा दीर्घरोगीका परिवारकी छोरीबुहारीलाई निःशुल्क उच्च शिक्षाको पहुँचमा ल्याउने उद्देश्यसहित करफोक बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययन गर्न सोमबार छात्रवृत्ति सम्झौता गरेको हो ।
सूर्योदय नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नवीन पौडेलका अनुसार वडाबाट सिफारिस भएका ३२ जना छोरीबुहारीसँग औपचारिक सम्झौता भइसकेको छ । प्रत्येक विद्यार्थीका लागि रु. ३२ हजार ९०० का दरले रु. १० लाख ५२ हजार ८०० क्याम्पसलाई प्रदान गरिने सम्झौता गरिएको हो ।
शाखा प्रमुख योगनिधि भट्टराईका अनुसार नयाँ तयार गरिएको ‘छोरीबुहारी तथा अन्य छात्रवृत्ति वितरण तथा व्यवस्थापन निर्देशिका–२०८१’ अनुसार अबदेखि छात्रवृत्ति वितरण प्रक्रिया अघि बढाइएको हो । “सूर्योदय नगरपालिकाका स्थायी बासिन्दा छोरीबुहारीले मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ”, उहाँले बताउनुभयो ।
नगरप्रमुख रणबहादुर राईले कार्यक्रम सुरु भएयता पढाइ छाडेका युवतीलाई फेरि शिक्षामा फर्काउन सहज भएको बताउँदै भन्नुभयो, “जबसम्म आमा शिक्षित हुनुहुन्न, तबसम्म परिवार र समाजले शिक्षाको महत्व बुझ्दैन, त्यसैले यो कार्यक्रम सञ्चालन गरिएको हो ।”
नगरपालिकाले छात्रवृत्ति पहिलो वर्षमा मात्र नतिजा सन्तोषजनक भए दोस्रो वर्षमा निरन्तरता दिने व्यवस्था गरेको छ । नतिजा असफल भएमा दोस्रो वर्षको शुल्क विद्यार्थी आफैँले बेहोर्नुपर्ने छ । विगत छ वर्षदेखि सञ्चालनमा रहेको छोरीबुहारी शिक्षा कार्यक्रममा हालसम्म दुई सय ६६ जना सहभागी भइसकेका छन् । तीमध्ये २३ जनाले स्नातक तह उत्तीर्ण गरिसकेका छन् भने केहीले लोकसेवा आयोगसमेत उत्तीर्ण गरिसकेको नगरप्रमुख राईले जानकारी दिनुभयो । अहिलेसम्म कार्यक्रमका लागि नगरपालिकाले रु. एक करोड ५० लाखभन्दा बढी खर्च गरिसकेको छ ।
कार्यक्रममा नगरउपप्रमुख दुर्गाकुमार बराल, सामाजिक विकास समिति संयोजक डिकबहादुर बम्जनलगायतको उपस्थिति थियो । उक्त अवसरमा करफोक बहुमुखी क्याम्पसले पहिलोपटक प्रकाशन गरेको अनुसन्धान जर्नल (रिसर्च जर्नल) सार्वजनिक गरिएको थियो । साथै, इलाम जिल्लास्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्डका पदक विजेता ७२ खेलाडीलाई क्रमशः रु.पाँच हजार, रु. चार हजार र रु. तीन हजारका दरले पुरस्कार वितरण गरिएको नगरले जनाएको छ । रासस