• ३ असार २०८२, मङ्गलबार

बाढीले बगायो मेलम्ची र लार्चाको ह्युमपाइप

blog

मेलम्ची बाढीले बगायो मेलम्ची नगरपालिका–११ को अस्थायी पुल (ह्युमपाइ) । तस्बिर : चित्रकुमार मिजार

चित्रकुमार मिजार
सिन्धुपाल्चोक, असार ३ गते ।
सोमबार राति आएको मेलम्ची बाढीले मेलम्ची नगरपालिका–११ मा रहेको फट्टे र भोटेकोशी गाउँपालिका–२ लार्चाको (अस्थायी पुल) ह्युमपाइप बगाएको छ । फट्टेको ह्युमपाइप (अस्थायी पुल) बगाएपछि मेलम्चीबाट दुवौचार, पाल्चोक जाने सडक अवरुद्ध भएको छ । बाह्रबिसे –तातोपानी नाका सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार केही दिनदेखि परेको वर्षातको मेलम्ची बाढीले हिजो राति फट्टेको ह्युमपाइप बगाएको थियो । ह्युमपाइप बगाएपछि मेलम्ची नगरपालिका–७, ८, हेलम्बु गाउँपालिका–२ र ३ र पाँचपोखरी थाङपाल गापा–१ र २ नम्बर वडाको स्थानीवासीलाई प्रत्यक्ष असर पुगेको छ । २०७८ असार १ गतेको भीषण मेलम्ची बाढीले फट्टेको मोटरेबल पुल बगाएको थियो ।

असार २ गते राति भोटेकोशी नदी उर्लेर आएपछि लार्चाको ह्युमपाइप बगाएको छ । ह्युपाइप बगाएपछि तातोपानी नाका जोड्ने सडक सम्बन्ध टुटेको जिप्रकाले जनाएको छ । वर्षातले भोटेकोशी नदीको बाहव बढिरहेको छ । लार्चामा बेलिबिज्र हाल्ने काम भइरहेको छ । केही दिनमा उक्त स्थानमा बेलिब्रिज हाल्ने काम सम्पन्न हुनेछ ।

बाढीले ह्युमपाइप बगाएपछि तातोपानी नाकाबाट राजधानी जाने मालबाहक कन्टेनर नाका क्षेत्रमै रोकिएका छन् । गत वर्ष असोज ११ र १२ गतेको भीषण भोटेकोशी नदीको बाढीले लार्चाको बेलिब्रिज बगाएको थियो ।