• ६ वैशाख २०८२, शनिबार

कञ्चनजङ्घा हीरक महोत्सव सुरु

blog

कञ्चनजङ्घा हीरक महोत्सवमा स्थानीयसँग तस्बिर खिचाउँदै पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलगायतका अतिथि। तस्बिर सौजन्य : विवश केदेम

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख ५ गते। ताप्लेजुङमा शुक्रबारदेखि कञ्चनजङ्घा हीरक महोत्सव सुरु भएको छ। विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घामा मानव पाइला पुगेको अर्थात हिमाल आरोहण भएको ७० वर्ष पुगेको अवसरमा हीरक महोत्सव आयोजना गरिएको हो।

आइतबार सम्पन्न हुने महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्नुभएको छ। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा हीरक महोत्सव फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा आयोजना गरिएको छ। लेलेप सदरमुकाम फुङ्लिङदेखि एक दिनको पैदल दूरीमा पर्दछ भने यातायात साधनमार्फत चार घण्टामा पुग्न सकिन्छ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र प्रकृतिको उपहार, संरक्षण क्षेत्रमा पर्या पर्यटन समृद्धिको आधार भन्ने नारासहित कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या बढाउने मुख्य उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो। परिषद्का सदस्य–सचिव मनकुमार राईका अनुसार महोत्सवले कञ्चनजङ्घाको प्रचारप्रसारमा थप टेवा पुग्ने र बाह्य तथा आन्तरिक पर्यटकको आगमन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ।

समुद्री सतहदेखि आठ हजार ५८६ मिटर उचाई रहेको कञ्चनजङ्घा हिमालको सन् १९५५ मे २५ मा बेलायतका आरोही जर्ज बैण्ड र जो ब्राउनले पहिलो पटक आरोहण गर्नुभएको थियो। उहाँहरुले कञ्चनजङ्घा आरोहण गरेको ७० वर्ष पुगेको अवसरमा हीरक महोत्सव आयोजना गरिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बोले जानकारी दिनुभयो। यसअघि २०७३ सालमा पनि कञ्चनजङ्घा आरोहणको ६० वर्ष पुगेको अवसरमा हीरक महोत्सव आयोजना गरिएको थियो। 

यता महोत्सवको उद्घाटन गर्नुहुँदै पर्यटन मन्त्री पाण्डेले नेपालका हिमाल गौरव र स्वाभिमानका प्रतीक भएकाले हिमालको संरक्षण र प्रवद्र्धनमा सरकारले उचित ध्यान दिने बताउनुभएएको छ। पाण्डेले नेपालका हिमालहरु प्राकृतिक रूपले मनमोहक नभई आध्यात्मिक र धार्मिक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको बताउनुभयो। हिमालका कारण नेपालीको गौरव र प्राप्त स्वाभिमानलाई जीवन्त राख्न संरक्षण अनिवार्य रहेको उहाँको भनाइ छ। 

हिमालसँग नेपालीहरूको संस्कार, संस्कृति र जैविक तथा पर्यावरणीय विविधतासँग समेत सम्बन्ध रहेकाले हिमालको संरक्षण र प्रवद्र्धनमा सबैको ध्यान जानुपर्ने मन्त्री पाण्डेले बताउनुभयो। हिमालसँगै यहाँको संस्कार संस्कृतिको संरक्षण र प्रवद्र्धन गरेमा अधिक बाह्य पर्यटकलाई भित्र्याउन सकिने उहाँले बताउनुभयो। उहाँले संस्कृति र प्रकृतिको संरक्षणमा सङ्घ, प्रदेश तथा स्थानीय गरी तीनै तहको समन्वय र सहकार्य अनिवार्य हुने पनि बताउनुभयो।

महोत्सवमा भलिबल लगायतका खेलकुद प्रतियोगिता आयोजना गरिएको छ भने तीनै दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने छ। उद्घाटनमा पूर्व पर्यटनमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई, स्थानीय तहका जनप्रतिनिधि पदाधिकारी, विदेशी पाहुना लगायतको उपस्थिति रहेको थियो।