• ६ वैशाख २०८२, शनिबार

विद्युतीय गाडी दुर्घटना हुँदा दुईको मृत्यु, १४ घाइते

blog

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२, धरमपानीमा दुर्घटनाग्रस्त इभि गाडी। तस्बिर सौजन्यः दुर्गाप्रसाद घिमिरे

अनिल पराजुली

हेटौँडा, वैशाख ५ गते। हेटौँडा-काठमाडौँ कान्ति लोक पथ सडक खण्डको मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२, धरमपानीमा इभि गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना यात्रु घाइते हुनुभएको छ। आज शुक्रवार बिहान एक बजेको समयमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा।प्र।०१–००६ ख ७०७२ नम्बरको इभि गाडी सडकबाट दुई सय मिटर तल खसेर दुर्घटना भएको हो।  

सवारी दुर्घटनामा रौतहट दुर्गा भवानी गाउँपालिका–५, बस्ने ५० वर्षीय निलम देवी राउत र सर्लाही बागमती गाउँपालिका–७ बस्ने १३ वर्षीय मानुसी मगरको मृत्यु भएको छ। राउतको उपचारको क्रममा हेटौँडा अस्पतालमा र खोजतलास गर्ने क्रममा मगर।दुर्घटना स्थल नजिक खोल्सामा मृत अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो। 

सवारी दुर्घटनामा रौतहट दुर्गा भवानीपुर गाउँपालिका–५ बस्ने ५५ वर्षीय राम प्रकाश राउत, सर्लाही बरहथहवा नगरपालिका–८ बस्ने ५२ वर्षीय शिवशङ्कर राय, ४५ वर्षीय रिकिदेवी राय, सर्लाही बरहथवा नगरपालिका–९ बस्ने २७ वर्षीय मनोज राय घाइते हुनुभएको छ। घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताउनुभयो। 

त्यस्तै सवारी दुर्घटनामा सर्लाही हरिहरपुर नगरपालिका–१ बस्ने २७ वर्षीय नवराज मगर, १६ वर्षीय प्रियङ्का मगर, १५ वर्षीय सृजन मगर, ४० वर्षीय जमुना मगर, १९ वर्षीय सुदिप रिसाल, सर्लाही विष्णुपुर गाउँपालिका–३ मधुवनगोठ बस्ने २७ वर्षीय देवराज कुमार साह, ४२ वर्षीय किसुनव्रर्ती साह, सर्लाही बागमती गाउँपालिका–७ बस्ने १६ वर्षीय युनिका दर्लामी मगर, महोत्तरी गौशाला गाउँपालिका–५ बस्ने  १६ वर्षीय आदित्य छोरचंगी मगर र चालक सर्लाही बागमती गाउँपालिका–५ बस्ने २९ वर्षीय कमल बहादुर दर्लामी घाइते हुनुभएको छ। घाइतेहरूको मकवानपुर सहकारी अस्पतालमा उपचार भई रहेको छ। 

घाइतेहरूको इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको नेतृत्वमा गएको टोलीले उद्धार गरी उपचारको लागि हेटौँडा पठाएको थियो। घाइतेहरूको शरीरको विभिन्न भागमा, टाउको, खुट्टा र भित्री चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।