• १२ असार २०८१, बुधबार

प्रदूषित पानीबाट बायोग्यास उत्पादन गरिने

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, भदौ १० गते । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले नगरका दुईवटा वडाबाट निस्कने दिसाजन्य लेदो तथा प्रदूषित पानी प्रयोग गरी बायोग्यास उत्पादनलाई निरन्तरता दिने भएको छ। नगरपालिकाले वडा नम्बर–४ र ५ बाट निस्कने दिसाजन्य लेदो र प्रदूषित पानीको व्यवस्थापन गरी बायोग्यास उत्पादन गर्न सङ्घीय सरकारको आर्थिक सहयोग तथा इन्भारोमेन्ट एन्ड पब्लिक हेल्थ अर्गनाइजेसन (एन्फो) प्राविधिक सहयोगमा वडा नम्बर–५ श्रीखण्डपुरस्थित ढल प्रशोधन केन्द्रको मर्मत सुरु गरेको हो। 

२०६४ सालमा यूएन ह्याबिट्याट, नगरपालिका र एन्फोको प्राविधिक सहयोगमा ढल प्रशोधन केन्द्र स्थापना गरी दिसाजन्य लेदो व्यवस्थापन गरी बायोग्यास उत्पादन गरिएको थियो। नगरपालिकाका इन्जिनियर हरेराम हुमागाईंले नगरपालिकामा जनसङ्ख्यामा वृद्धि भएसँगै प्रशोधन केन्द्रको मर्मत गरी पुनः बायोग्यास उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो। उहाँले हालसम्म प्रशोधन केन्द्रको भौतिकतर्फ ८० प्रतिशत र वित्तीयतर्फ ५० प्रतिशत प्रगति भएको बताउनुभयो। आगामी मङ्सिर मसान्तसम्म निर्माण सम्पन्न हुने प्रशोधन केन्द्रको हालसम्म सेफ्टी ट्याङ्की, पाले घर, फिल्टर ट्याङ्की निर्माण सम्पन्न भएको छ।

“प्रशोधन केन्द्रमा जम्मा भएको लेदोबाट करिब ३० घरधुरीलाई पुग्ने बायोग्यास उत्पादन हुनेछ, लेदोलाई कम्पोस्ट मल र दूषित पानीलाई शुद्धीकरण गरी माछापालन गर्न मिल्ने बनाएर खोलामा पठाइनेछ,” हुमागाईंले थप्नुभयो। केन्द्र मर्मतका लागि भ्याटबाहेक ७४ लाख ८७ हजार ८८१ रुपियाँमा ठेक्का सम्झौता भएको छ। यसअघि ढल प्रशोधन केन्द्रबाट उत्पादन भएको बायोग्यास १२ घरपरिवारले प्रयोग गर्दै आएका थिए। 

यसैगरी सहरी विकास मन्त्रालयको १८ करोड रुपियाँको लगानीमा नगरपालिकाको वडा नम्बर–३ र ४ मा थप दुईवटा ढल प्रशोधन केन्द्र निर्माण भइरहेको नगरपालिकाका सब–इन्जिनियर हरिचन्द्र लामिछानेले बताउनुभयो। यस्तै नगरपालिकाको वडा नं. ६ को पीपलबोट र ८ को ठकुरी गाउँमा रहेको प्रशोधन केन्द्र मर्मत गर्नुपर्ने अवस्थामा रहेको नगरपालिकाले जनाएको छ।