• १३ साउन २०८१, आइतबार

मध्यरातमा सारियो योजनाको सूचनापाटी

blog

कपिलवस्तुको मायादेवी गाउँपालिकामा-१ बरहीमा रातारात सारिएको सूचनापाटी । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, भाद्र ९ गते । कपिलवस्तुको मायादेवी गाउँपालिका –१ को बरहीटोलमा एउटा साइनबोर्ड छ । सूचनापाटीअनुसार सो सडक स्तरोन्नति हुनुपर्ने देखिन्छ । तर सडकमा काम भएको छैन । रातारात सूचनापाटी राखिएपछि स्थानीयले मिलेमतो भएको अनुमान गरेका छन् । 

सूचनापाटी र सडकको अवस्था देखेपछि कपिलवस्तुका मिडियाले सेटिङ मिलाएर रकम खाएको भन्दै समाचार प्रकाशन गरेका थिए । तर मिडिया र स्थानीयलाई समेत झुक्याउने यो साइनबोर्ड भने गाउँका केही मानिस मिलेर रातारात सारेका रहेछन् । त्यही झुण्डले ठेकेदारले काम नगरी १० लाख रुपियाँ भुक्तानी लगे भनेर भ्रम फिजाउन रातारात सूचनापाटी सारेका थिए । सो भ्रम फैलाउन स्थानीय राजनीतिकर्मीले मिडिया प्रयोग गरेको आरोप स्थानीय दिलीप यादवले दाबी गर्नुभयो । 


योजना अन्तर्गत सूचनापाटीदेखि दुई सय मिटर उत्तरदेखि पश्चिमतर्फ बरही गाउँ हुँदै पीपरा चाकरचौडा सडकसम्मको भाग पीसीसी गरिएको थियो । सडक पूर्वाधार विकास कार्यालय कपिलवस्तुका निमित्त प्रमुख इन्जिनियर हितेन्द्र रायमाझीले स्थानीयमा भ्रम फैलाउन रातारात सूचनापाटी सारिएको बताउनुभयो । जसपा र लुम्बिनी प्रदेश सरकारका भौतिक तथा पूर्वाधार विकासमन्त्री सहसराम यादवप्रति लक्षित गर्दै भ्रम सिर्जना गर्न रातारात साइनबोर्ड सारिएको एक स्थानीयले बताउनुभयो । 

योजनाको सूचनापाटी मुख्य सडकमा भए पनि रातारात अर्को ठाउँमा सारिएको थियो । सो बोर्ड पक्की सडक (सुरुवाती बिन्दु) मा रहेको र पछि सारिएको बताइएको छ । बोर्ड सारिएपछि समुदायमा एउटा बाटो देखाएर दुई योजनाको रकम भुक्तानी भएको हल्ला चलाइएको थियो ।