• १२ असार २०८१, बुधबार

मिर्गौला, क्यान्सर र पक्षघातका बिरामीलाई काठमाडौं महानगरले उपचार खर्च दिने

blog

फाइल तस्बिर

काठमाडौं, भदौ ९ गते । काठमाडौं महानगरपालिकाले मिर्गौला, क्यान्सर  र मेरुदण्ड पक्षघात भएका बिरामीलाई उपचार खर्च उपलब्ध गराउने भएको छ ।

महानगरपालिकाले बिहीबार सूचना सार्वजनिक गर्दै मिर्गौला प्रत्यारोपण गरेका, डाइलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने जानकारी गराएको हो। यस्ता बिरामीलाई मासिक पाँच हजार रुपैयाँ खर्च उपलब्ध गराउने सूचनामा उल्लेख गरिएको छ।

यस्ता बिरामीलाई निवेदन दिन सूचनामार्फत् जानकारी गराइएको छ । महानगरको साउन ३१ गते भएको निर्णय अनुसार बिरामीको विवरण माग गरेको हो । महानगरमा स्थायी बसोबास गरिरहेका र राज्यबाट अन्य कुनै सेवा, सुविधा तथा सामाजिक सुरक्षा भत्ता नलिएका  बिरामीलाई बिरामीको विवरण कागजातसहित आफ्नो वडा कार्यालयमा निवेदन दिन आग्रह गरेको छ।

निवेदन दिन नेपाली नारिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, अन्यत्रबाट बसाइँ सरेर आएको हकमा बसाइँसराइ प्रमाणपत्रको प्रतिलिपि, चिकित्सकबाट प्रमाणित गर्न उपचार भइरहेको अस्पतालको चिकित्सकबाट प्रमाणित गरिएको अन्य कागजात र मेरुदण्ड पक्षघात भएका व्यक्तिका हकमा अपाङ्गता परिचय पत्रको (रातो वा निलो) प्रतिलिपि बुझाउन महानगरले आग्रह गरेको छ।

आर्थिक वर्ष २०७८/७९ को बजेटमा मिर्गौला प्रत्यारोपण गरेका, डाइलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक पाँच हजार औषधि खर्च दिने जनाएको थियो।