वसन्त पराजुली
नारायणगढ, फागुन २१ गते । खुला दिसामुक्त जिल्ला घोषणा भएको १३ वर्ष पुग्दा पनि चितवन माडीका बासिन्दा वन्यजन्तुको जोखिम मोलेरै खुला शौच गर्न बाध्य छन् । चितवन राष्ट्रिय निकुञ्जनजिकै रहेको गरिब तथा विपन्न समुदायका नागरिकले शौचालय बनाउने खर्चसमेत जुटाउन नसक्दा वन्यजन्तुको त्रासमै खुला रूपमा जङ्गलमा शौच गर्दै आएका छन् ।
माडी नगरपालिका–१ की निर्मला बोटे आफ्नो घरमा चर्पी नभएपछि अहिले निकुञ्ज क्षेत्र र निकुञ्जसँगै रहेको रिउँखोलाको किनारमा दिसा गर्न जाने गरेको बताउनुहुन्छ । “घरमा चर्पी छैन, आफ्नो खर्चले बनाउन सक्ने क्षमता र अवस्था पनि छैन । चर्पी नभएपछि घरपछाडिको जङ्गल र योसँगै रहेको रिउँखोलाको किनारमा दिसा गर्न जान्छौँ,” उहाँले भन्नुभयो । दिसापिसाब गर्दागर्दै वन्यजन्तु आउने हो कि भन्ने डर लागे पनि बाध्यताले जानै परेको उहाँले बताउनुभयो ।
“लाग्छ नि डर, किन नलाग्नु ? शौच गर्दागर्दै वन्यजन्तुले ज्यान लिन्छ कि भन्ने डर लाग्छ । तर पनि हामी आफ्नो घरमा चर्पी बनाउन सक्दैनौँ । जङ्गल र खोलातिर नगएर के गर्नु ?” उहाँले आफ्नो बाध्यता सुनाउनुभयो । पाण्डवनगर माडी नगरपालिकाको वडा नम्बर १ मा पर्छ । यही वडामा रहेको बनकट्टाका बासिन्दा दैनिक शौच गर्न जङ्गल जाने गर्छन् ।
बोटेगाउँ एकाइ समितिका अध्यक्ष सन्तोषप्रसाद बोटेले पाण्डवनगर र बनकट्टामा गरी १५२ घरधुरी रहेको बताउनुभयो । यहाँ आधा घरमा पनि चर्पी छैन । यी दुवै बस्ती बोटेको बाहुल्य रहेको क्षेत्र हो । यहाँका बासिन्दाले दिनभर खोलामा माछा मारेर घरखर्च टार्दै आएका छन् । आफूहरूसँग शौचालय बनाउने पैसा नभएको उनीहरूको भनाइ छ ।
“पाण्डवनगर र बनकट्टामा मात्रै हात्ती, बाघ, गैँडा र भालुको आव्रmमणबाट विगत सात वर्षको अवधिमा १५ जनाको ज्यान गइसकेको छ । घाइतेको सङ्ख्या पनि योभन्दा बढी छ,” अध्यक्ष बोटेले भन्नुभयो । यहाँका मानिसलाई वन्यजन्तुले आक्रमण गर्ने भनेकै दिसापिसाब गर्न जङ्गल र खोला किनार जाँदा हो, उहाँले भन्नुभयो । घाँसदाउरा गर्न जाँदा र घरपालुवा जनावर चराउन जङ्गल जाँदा पनि यहाँका बासिन्दा वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन् । दुई वर्षअघि भालुको आक्रमणबाट घाइते बिर्खबहादुर बोटे जनावरको जति नै त्रास भए पनि आफूहरू शौच गर्न जङ्गल र खोला किनार नै जानुपर्ने बाध्यतामा रहेको बताउनुहुन्छ ।
“डरैडर र त्रासमै दिसापिसाब गरेर जङ्गलबाट फर्कने हो,” उहाँले भन्नुभयो । यहाँका बासिन्दाले आर्थिक अभावकै कारण शौचालय बनाउन नसकेको उहाँको भनाइ छ । “दैनिक ज्यालादारी गरेर खान मुस्किल छ । कुन पैसाले चर्पी बनाउने ? राति दिसापिसाब लागे केटाकेटी बाहिर निस्कन सक्दैनन् । बाहिर निस्किए पनि कतिखेर जनावरले आक्रमण गर्ने हो भन्ने डर मात्र हुन्छ,” उहाँले भन्नुभयो ।
चितवनलाई २०६८ असोज ६ गते खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । यो बेला माडीमा गर्दी, बघौडा, कल्याणपुर र अयोध्यापुरी गरी चार वटा गाउँ विकास समिति थिए । अहिले यी गाविस जोडिएर माडी नगरपालिका बनेको छ । यहीबिच २०७६ असोज १३ गते सरकारले खुला दिसामुक्त देश घोषणा गरेको छ ।
माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो माडीका नयाँ बस्तीमा शौचालय नभएको स्विकार्नुहुन्छ । नयाँ बस्ती दलित, बोटे र चेपाङबहुल बस्ती हुन् । यो भनेको दुई बोटे बस्तीका साथै कुसुमखोलाबाट बसाइँ सरेर आएका प्याउली, परुई, शीतलपुर, आँपेटोल स्वामीटोललगायतका बस्ती हुन् । त्यहाँ अहिले पनि अधिकांशका घरमा चर्पी छैन ।
“नगरपालिकाले पनि शौचालय बनाउन सहयोग गरिरहेकै छ तर पनि पर्याप्त भएको छैन,” महतोले भन्नुभयो, “माडीका गरिब र विपन्न समुदायमा देखिएको समस्या कतिपय अवस्थामा जनचेतनाकै अभावमा पनि आइरहेको छ ।” पछिल्लो राष्ट्रिय जनगणना–२०७८ का अनुसार माडीमा ५.९ प्रतिशत घरमा शौचालय छैन । यो भनेको ६०१ घर परिवार हो । यो गणनाले चितवनमा दुई हजार ६३६ घरधुरीमा शौचालय नभएको उल्लेख गरेको छ । यो सङ्ख्यामा देशैभर ४.५ प्रतिशत घरधुरीमा शौचालय नभएको तथ्याङ्क राष्ट्रिय जनगणनामा उल्लेख छ ।